Political Hightlights

अध्यक्ष प्रचण्डलाई मनाउने प्रधानमन्त्री ओलीको प्रयास

हिमालय टिभी
२०७७ कार्तिक १४ गते १४:३०
अध्यक्ष प्रचण्डलाई मनाउने प्रधानमन्त्री ओलीको प्रयास

१४ कात्तिक, २०७७ काठमाडौं । संवादहीनताको बढेपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मनाउने प्रयास तीब्र पार्नुभएको छ ।

केही दिन यता ओलीले आफू निकट नेतालाई खुमलटार पठाएर संवादका लागि मनाउने प्रयास गर्नुभएको छ । लगातार तेस्रो दिन आफ्ना दूतमार्फत् कुरा गर्ने क्रममा ओलीले आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई खुमलटार पठाउनुभएको छ ।

ज्ञवाली पछिल्लो तीन दिनमा खुमलटार पुग्ने ओली निकट तेस्रो नेता हुनुहुन्छ । यसअघि अस्ति अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ र हिजो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार जानुभएको थियो ।

आजको भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले ओलीसँग संवाद अघि बढाउन आग्रह गर्नुभएको छ । त्यस्तै रअ प्रमुख सामन्तकुमार गोयलको भ्रमणका विषयमा पनि मन्त्री ज्ञवालीले जानकारी गराउनुभएको छ ।

आफूसँग भएको सहमति विपरीत ओलीले निर्णय गरेको भन्दै प्रचण्डले भेटवार्ताको निम्तो अस्वीकार गर्दै आउनुभएको छ । त्यसैले ओली निकट नेताहरु संवाद गराउन खुमलटार धाईरहेका छन ।

तर प्रचण्डले आफू कन्ट्याक्ट ट्रेसिङमा परेकाले बालुवाटार नजाने जवाफ दिँदै आउनुभएको छ । तर त्यो जवाफ औपचारिक मात्रै भएको बुझिएको छ । कात्तिक ४ मा नेकपा ओली–प्रचण्डबीच कर्णाली विवाद समाधानबारे लामो छलफल भए पनि सहमति हुन सकेको थिएन ।

विशेषगरी मन्त्रिपरिषद् पुनर्गठन, राजदूतको सिफारिस र कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीमा अविश्वास प्रस्ताव आएपछि प्रचण्ड ओलीबीच संवादहीनता बढेको छ । मतभेदकै कारण कात्तिक १५ मा निर्धारित केन्द्रीय कमिटी बैठक एक महिना पछाडि सारिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्