Main News

दशैंमा ओहोरदोहोर गरेकालाई एक हप्ता होम क्वारन्टिनमा बस्न सरकारको आग्रह (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १३ गते १९:०४
दशैंमा ओहोरदोहोर गरेकालाई एक हप्ता होम क्वारन्टिनमा बस्न सरकारको आग्रह (भिडियोसहित)

१३ कात्तिक, २०७७ काठमाडौं । दशैंपछाडी फर्कनेहरुबाट काठमाडौं उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आँकलन भइराखेको छ । यसलाई ध्यान दिँदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट (एचडीयु)को संख्या बढाउने रणनीति अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । तर जनस्वास्थ्यविदहरुले भने उपचारको तयारीसँगसँगै समूदायस्तरमा पीसीआर परीक्षणलाई व्यापक बनाउनुपर्ने बताएका छन् ।

दशैं सकिएसँगै यतिबेला देशका विभिन्न स्थानबाट काठमाडौं उपत्यका आउनेहरुको भिड बढेको छ । उपत्यका त्यसैपनि कोभिड संक्रमणको उच्च दर रहेको ठाउँ हो । विभिन्न ठाउँबाट आउनेहरुको संख्या बढेसँगै स्वभाविक रुपमा संक्रमण बढ्ने उच्च जोखिम पनि रहन्छ ।

सार्वजनिक यातायातमार्फत उपत्यका भित्रिनेहरुमा अझ बढी संक्रमण हुन सक्ने सम्भावना पनि छ । यस्तै सार्वजनिक यातायातमा तथा यात्रा गरिरहेका यात्रुहरुले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नगर्दा पनि संक्रमणको जोखिम बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण बढ्ने जोखिमको आँकलन गरेर सरकारले पूर्व तयारी गरिसकेको बताउनुभयो ।

हाइ डिपेन्डेन्सी युनिट र आइसोलेसन वार्डको तयारी गरिसकेको उहाँले बताउनुभयो । संक्रमणको जोखिम कम गर्ने पहिलो दायित्व व्यक्ति स्वयंको भएकाले सरकारले कारबाही गर्छु भन्दै डर देखाएर जोखिम कम गर्न सक्दैन । यसैले व्यक्ति स्वयंले पनि काठमाडौं फर्किसकेपछाडि कम्तिमा एक हप्ता क्वारेन्टाइनमा बस्न सरकारले अनुरोध गरेको पनि प्रवक्ता गौतमले बताउनुभयो ।

जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले भने दशैंमा घरबाट फर्किएर काठमाडौं आउनेहरुबाट संक्रमण फैलनेभन्दा उपत्यकाभित्र रहेकाबाट नै संक्रमण फैलने सम्भावना बढी रहेको बताउनुभयो ।

गाउँभन्दा काठमाडौं उपत्यकामा नै संक्रमण उच्च भएकाले बाहिरबाट आउनेहरु नै जोगिनुपर्ने बताउनुभयो । काठमाडौंमा संक्रमणमा नपर्नका लागि नियमित रुपमा मास्क लगाउने, दुरी कायम गर्ने र भिडभाडमा नजाने गर्नुपर्ने हुन्छ । जाडो मौसममा घरभित्र खुला वातावरण नहुने भएकाले पनि धेरै सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ ।

जोखिममा समूहमा पर्ने व्यक्तिहरुलाई जोगाउनका लागि घरभित्रै पनि अनिवार्य मास्क लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । आफूबाहेक अरु सबै संक्रमित छन् भन्ने सोच बनाई सावधानी अपनाउन डा. दीक्षितको आग्रह छ । यस्तै राज्यले पीसीआर परीक्षणलाई अझ व्यापक बनाउनुपर्ने उहाँले बताउनुभयो । जाडो मौसम रुघाखोकी लाग्ने समय भएकाले पनि मौसमी रुघाखोकी हो वा कोरोना हो छुट्याउन समुदायस्तरमा नै निःशुल्क परीक्षण गर्नुपर्ने व्यवस्था राज्यले गर्नुपर्ने उहाँको भनाई छ ।

सरकारले कोरोना संक्रमण फैलिन नदिन विभिन्न माध्यमबाट जनतालाई सचेत गराएपनि जनता स्वयंले यसको कठोर पालना नगर्दा संक्रमणको दर बढिरहेको छ । युरोपिएन मुलुकहरुमा संक्रमण दोहोरिएर भइरहेको घटनालाई पनि सरकार र जनता दुवैले हेरेर सतर्कता अपाउनुको विकल्प छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *