Political Hightlights

सत्तारुढ नेकपाभित्रको विवाद केन्द्र हुँदै स्थानीय तहसम्म विस्तार

हिमालय टिभी
२०७७ कार्तिक १३ गते ७:३८
सत्तारुढ नेकपाभित्रको विवाद केन्द्र हुँदै स्थानीय तहसम्म विस्तार

१३ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय तहमा देखिएको विवाद समाधान नहुँदै प्रदेश तथा स्थानीय तहसम्मै पुगेको छ। यसले पार्टीभित्रको संकटलाई झनै चर्काउने देखिएको छ।

वैशाखदेखि सतहमा आएको पार्टी केन्द्रको किचलो अहिले युद्धविरामको अवस्थामा छ। तर, यही अवस्थामा कर्णाली प्रदेश र पर्सा जिल्लामा संकट बढेको छ।

अहिले सीमित स्थानमा देखिएको समस्या विस्तारै फैलिँदै जाने नेकपाका नेताहरुले बताउन थालेका छन् । पार्टी तथा सरकार सञ्चालनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नेकपामा पहिलेदेखि नै असन्तुष्टि थियो।

महिनौँको रस्साकस्सीपछि भदौ २६ मा स्थायी कमिटीको बैठकले विभिन्न प्रस्ताव पारित गर्दै आन्तरिक कलह टुंगाएको थियो । तर चाँडै र सबैतिर विवाद सल्किने अवस्था देखा परेको छ । मन्त्री तथा राजनीतिक नियुक्तिका कारण उत्पन्न असन्तुष्टिमा प्रदेश र स्थानीयस्तरमा भएको घटना जोडिन आइपुगेका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव पछिको विवाद समाधान गर्न प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले कर्णालीका नेताहरुलाई फरकफरक निर्देशन जारी गरेपछि विवाद झनै जटिल बनेको छ।

उता पर्सा गाउँपालिका कमिटीको सपथग्रहण समारोहमा बाहिरबाट आएको समूहले आक्रमण गर्दा गाउँ कमिटीका सचिव मुकेश चौरसियाको मृत्यु भएपछि विवाद चर्केको छ।

परिवारका सदस्य तथा पार्टीका नेताहरुले पूर्व सांसद राजकुमार गुप्ताको निर्देशनमा घटना भएको आरोप लगाएका छन्। गुप्ताको नाम किटान गरेको जाहेरी प्रहरीले लिन मानेको छैन।

गुप्ता प्रधानमन्त्री ओली निकट नेता हुन्। पर्सा घटनाको विषयमा पनि प्रचण्ड र नेपाल एकै स्थानमा छन्।

प्रदेश २ का प्रचण्ड र नेपाल निकट ३७ जना केन्द्रीय सदस्यले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेका छन्। विवाद समाधानका लागि दुई अध्यक्षबीच लामो समयदेखि संवादसमेत हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्