Main News

दशैँमा गरिएको लापरवाही भयावह हुनसक्ने, रुघाखोकी लागे पनि तुरुन्तै परीक्षण गराऔं (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १२ गते २०:२१
दशैँमा गरिएको लापरवाही भयावह हुनसक्ने, रुघाखोकी लागे पनि तुरुन्तै परीक्षण गराऔं (भिडियोसहित)

१२ कात्तिक, २०७७ काठमाडौं । सरकारले जहाँ छौ त्यहीँ दशैं मनाउन आग्रह गरे पनि दशैं मनाउन एक ठाउँबाट अर्को ठाउँमा जानेको संख्या उल्लेख्य रह्यो । त्यस्तै यो अवधिमा कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी पनि कमै मात्रले अपनाएका छन् । त्यसको परिणाम अबको अवस्था झनै भयावह हुने देखिएको छ ।

दशैं सुरु हुनुअघि सरकार र विज्ञले टीकाटालो गर्दा, घरपरिवारसँग भेटघाट गर्दा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका थिए । तर दशैंमा अधिकांश व्यक्तिले सरकार र विज्ञको आग्रह मानेनन् । दशैंको टीकाटालोपछि सामाजिक सञ्जालमा देखिएका तस्बिरले नै सावधानी नअपनाएको पुष्टि हुन्छ । दशैंमा गरिएको लापरबाहीको असर आउँदा दिनमा देखिन सक्ने विज्ञको चेतावनी छ । अबका दिनमा कोरोना संक्रमण अझै बढ्ने संभावना छ ।

दशैंमा टीका थाप्नकै लागि एकठाउँबाट अर्को ठाउँमा आवतजावत गर्नेको संख्या पनि बढेको छ । त्यस्तै अहिलेसम्म सावधानी अपनाएर घरमै बसेका पनि धेरै व्यक्तिसँग घुलमिल भएका छन् । त्यसैले रुघाखोकी, ज्वरो आउने लगायतका कोरोना संक्रमणसँग मिल्दाजुल्दा समस्या देखिएमा कोरोना कै शंका गरी परीक्षण गर्न विज्ञको सुझाव छ ।

दशैं मान्न मानिसहरु शहरबाट गाउँगाउँ पनि पुगे । पछिल्लो एक महिना कोरोनाको हटस्पट बनेको काठमाडौंबाट पनि मान्छे गाउँ गाउँमा पुगेका छन् । त्यसैले अब संक्रमण नफैलिएको ग्रामीण भेगमा पनि संक्रमण फैलिने खतरा छ । त्यसैले कोरोना संक्रमितको व्यवस्थापनका लागि योजना बनाउन स्थानीय सरकार र समुदायलाई विज्ञको आग्रह छ ।

मास्क लगाउने, दूरी कायम गर्ने, साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने लगायतका सामान्य सावधानीले नै कोरोनाबाट बच्न सकिन्छ । तर हामी सावधानी अपनाउन चुकिरहेका छौंं । कोरोनालाई ख्यालठट्टा ठान्ने हो भने यसको नतिजा सोचेजस्तो नहुने विज्ञको चेतावनी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *