Main News

चौरसिया हत्यामा संलग्नमाथि कारबाही माग गर्दै आज पनि वीरगञ्जमा प्रदर्शन (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १२ गते १९:१६
चौरसिया हत्यामा संलग्नमाथि कारबाही माग गर्दै आज पनि वीरगञ्जमा प्रदर्शन (भिडियोसहित)

१२ कात्तिक, २०७७ पर्सा । नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै आज पनि वीरगञ्जमा प्रदर्शन भएको छ ।

प्रहरीले घट्नामा संलग्नविरुद्धको जाहेरी दर्ता गर्न नमानेको भन्दै आज छैटौं दिन पनि प्रदर्शन भएको हो । आज दिवंगत चौरसियाको गाउँ विन्दबासिनी गाउँपालिकाबाट ठूलो संख्यामा महिलाहरु कुचो लिएर प्रदर्शनमा सहभागी भएका थिए ।

प्रदर्शनकारीले पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले जाहेरी लिन नमानेको भन्दै पुतलासमेत जलाएका छन् । नेकपाकै सरकार भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा प्रहरीले घट्नामा संलग्न पूर्व सभाषद राजकुमार गुप्तासहितका व्यक्तिविरुद्धको जाहेरी लिन नमानेको प्रदर्शनकारीको आरोप छ ।

नेकपाको एक टोलीले दोषीमाथि कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई ज्ञापन पत्र बुझाएको छ । प्रहरीले घट्नामा संलग्न राजकुमार गुप्तालाई जोगाउन खोजेको र गुप्ताको नाम नहटाउँदासम्म जाहेरी लिन नमानेको आरोप छ । नामै नलिए पनि नेकपा वीरगञ्ज महानगर प्रमुख रहबर अन्सारीले गुप्ताको नाम हटाउन दबाब दिएको आरोप लगाउनुभयो ।

ज्ञापनपत्र पढ्दै अन्सारीले आफ्नै पार्टीको सरकारले न्यायबाट बञ्चित गर्न खोजेको भनेर प्रश्न गर्नुभएको छ ।

प्रदर्शनकारीले चौरसियालाई शहीद घोषणा गर्न र परिवारलाई राहत दिन पनि माग गरेको छ । नेकपा विन्दबासिनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच झडप हुँदा चौरसियाको ज्यान गएपनि सत्तारुढ नेकपामा जिल्लामा विभाजित छ ।

प्रचण्ड नेपाल समूह आन्दोलनमा छ भने ओली पक्ष मौन छ । हत्यामा संलग्न रहेको आरोप लागेका राजकुमार गुप्ता ओली पक्षको भएकाले प्रहरीले जोगाउन खोजेको र यसमा प्रधानमन्त्री ओलीले नै दबाब दिएको प्रचण्ड नेपाल पक्षको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *