चेतनाको कमीले आँखाका बिरामीको संख्या बर्षेनि बढ्दै (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १२ गते १४:४१
चेतनाको कमीले आँखाका बिरामीको संख्या बर्षेनि बढ्दै (भिडियोसहित)

१२ कात्तिक, २०७७ भोजपुर । चेतनाको कमीले आँखाका बिरामीको संख्या बर्षेनी बढदै गएको छ । समयमै उपचारमा ध्यान नपुर्‍याउनाले आँखाका बिरामीको संख्या दिनानुदिन बढ्दै गएको आँखा तथा कान उपचार केन्द्र भोजपुरले जनाएको छ । र, आँखाको समस्या हुनेमा बालबालिका र वृद्धवृद्धा धेरै छन् ।

उमेर पुगेका वृद्धवृद्धा मात्र हैन । पछिल्लो समय बालबालिकामा पनि आँखासम्बन्धी समस्या बढ्दै गएको छ । औषधि उपचारमा बेवास्ता, टेलिभिजन, कम्युटर, मोबाइलजस्ता विद्युतीय सामग्रीको बढ्दो प्रयोगकै कारण बालबालिकाको आँखामा समस्या देखिने गरेको छ ।

आँखा तथा कान उपचार केन्द्र भोजपुरको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्रै ४ सय ५५ बालबालिकाको आँखाको शल्यक्रिया गरिएको छ । सानै उमेरका बालबालिकाको पढाइ र सिकाइ अहिले विद्युतीय सामग्रीसँगै जोडिएको छ । त्यसैले आँखाको समस्या बालबालिकामा बढ्दो छ ।

विशेषगरी आँखामा चोट लाग्दा, मोतीविन्दुका लक्षण देखिदा, मधुमेह रोगको संक्रमणलाई सामान्य रुपमा लिने बानीले आँखाको समस्या हुने गरेको छ । यसरी समयमा उपचार नपुर्‍याएपछि आँखा नदेख्दा पारीवारिक र सामाजिक गतिविधिमा विभेद हुने गरेको बिरामीहरु अनुभव सुनाउँछन् ।

आँखा तथा कान उपचार केन्द्र भोजपुरको तथ्याङ्कअनुसार आर्थिक वर्ष ७३–७४ मा २ हजार १ सय ८७, ७४–७५ मा २ हजार ३ सय ८६ र ७५–७६ मा २ हजार ५ सय २७ जना बिरामीको उपचार गरिएको थियो । जसमा सबैभन्दा बढी बुढाबुढी र केटाकेटी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *