Main News

कोरोना संक्रमणबाट संविधानसभाका पूर्वसदस्य चौधरीको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक ११ गते १५:१३
कोरोना संक्रमणबाट संविधानसभाका पूर्वसदस्य चौधरीको मृत्यु

११ कात्तिक, २०७७ राजविराज । संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज निधन भएको पुष्टि भएको छ ।

सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोज तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताउनुभयो ।

घरमा नै नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन लगाई उपचार गर्दा समेत सास फेर्न गाह्रो भएपछि गत असोज २ गते राति थप उपचारका लागि उहाँलाई बिपी प्रतिष्ठान लगिएको थियो ।

सोही दिन उहाँको स्वाब संकलन गर्दा असोज ३ गते रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित हुनुहुन्थ्यो ।

दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उहाँमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ आएपछि प्रतिष्ठानको आइसोलेशनमा उपचारकै क्रममा उहाँको आज मृत्यु भएको नगर प्रमुख वसन्तकुमार मिश्रले बताउनुभयो ।

चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो । यससँगै सप्तरीमा हालसम्म कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *