Political Hightlights

रअका प्रमुख गोयल भेटेर प्रधानमन्त्रीबाट कुनै गल्ती भएको छैनः उपप्रम पोखरेल

हिमालय टिभी
२०७७ कार्तिक १० गते १७:२८
रअका प्रमुख गोयल भेटेर प्रधानमन्त्रीबाट कुनै गल्ती भएको छैनः उपप्रम पोखरेल

१० कात्तिक, २०७७ काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँग भेट्दा प्रधानमन्त्री केपी शर्मा ओलीबाट कुनै गल्ती नभएको दाबी गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो ६ बुँदे धारणा सार्वजनिक गर्दै उपप्रधानमन्त्री पोखरेलले ‘रअ’ का प्रमुख गोयलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा प्रधानमन्त्री ओलीसँग भेट तथा संवादका लागि आएर फर्किएको स्पष्ट पार्नुभयो ।

उहाँले गोयलको भ्रमण भारतीय राजदूतावासको पत्राचार र पहलमा परराष्ट्र मन्त्रालयको स्वीकृतिमा नै भएको दाबी गर्नुभएको छ।

प्रधानमन्त्री ओली र गोयलबीच भएको कुराकानीको टिपोट परराष्ट्र मन्त्रालयमा समेत सुरक्षित रहेको उपप्रधानमन्त्री पोखरेलको दाबी छ ।

भेटमा केही समयदेखि असहज बन्न पुगेको नेपाल–भारत सम्बन्ध खासगरी सीमा समस्या र नयाँ नक्सा प्रकाशनसँग गाँसिएका विषयमा केन्द्रित रहेको उपप्रधानमन्त्री पोखरेलले स्पष्ट पार्नुभएको छ ।

नेपालले राख्दै आएका अडान पुनः जानकारी गराइएको र समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको पोखरेलको भनाइ छ।

भेटमा प्रधानमन्त्री ओलीले वार्ताद्वारा नै तथ्य तथा ऐतिहासिक प्रमाणका आधारमा देखापरेका समस्याको समाधान खोजिनुपर्ने बताउनुभएको र भारतीय पक्षबाट पनि त्यसलाई सकारात्मक लिएको उहाँको भनाइ छ।

केही समयदेखि असहज बन्न पुगेको नेपाल(भारत सम्बन्धलाई यही अवस्थामा रहन दिनु नहुने मान्यताका साथ गरिएको पहलमा पनि विरोध भएको भन्दै उपप्रधानमन्त्री पोखरेलले आपत्ति जनाउनुभएको छ।

वास्तविकता नबुझी पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गरेको उहाँको आरोप छ।

प्रोटोकललाई ख्याल नगरिएको, मर्यादाको पालना नगरिएको, छिमेकी मुलुकको जासूसी संस्थाको योजनामा संचालित हुन खोजेको, वार्ताका विषयलाई रहस्यमा राखिएको, राष्ट्रियता र स्वाधीनतामा आँच पुर्‍याइएको जस्ता आरोप लगाएर कम्युनिस्ट पार्टीको सरकार विरूद्ध गलत बहस सिर्जना गर्न खोज्नेहरु नै विगतमा ‘रअ’ का हाकिमसँग भेट गर्न तँछाड मछाड गर्दै छिमेकी मुलुक पुग्नेहरू भएको उहाँको टिप्पणी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्