Main News

भेरी अस्पतालमा आउने बिरामी र कुरुवालाई २० रुपैयाँमा खाना (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ९ गते २०:१४
भेरी अस्पतालमा आउने बिरामी र कुरुवालाई २० रुपैयाँमा खाना (भिडियोसहित)

९ कात्तिक, २०७७ नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा २० रुपैयाँमै खाना खुवाउन थालिएको छ । स्थानीय स्वयमसेवीहरुको पहलमा अस्पतालमा आउने बिरामी र बिरामी कुरुवालाई लक्षित गरेर यो अभियान शुरु भएको हो ।

नेपालगन्जको भेरी अस्पतालमा सधैं उपचार गर्नेको घुइँचो हुन्छ । उपचार गर्न जाने बिरामीले बिहानदेखि बेलुकीसम्म नै बस्नपर्छ । अस्पतालमा भर्ना हुने बिरामी पनि हुन्छन् । अब यी बिरामीले र बिरामीका कुरुवाले खानाका लागि भने कुनै चिन्ता लिनु नपर्ने भएको छ । किनकी अस्पताल परिसरमा बिरामी र बिरामीको आफन्तलाई लक्षित गरी २० रुपैयाँमा नै खाना खुवाउन थालिएको छ ।

अस्पताल हाताभित्रै सुन्दरकान्ड मित्र मन्डल संस्थाले बिरामी तथा बिरामीका आफन्तहरुलाई २० रुपैयाँमा खान खुवाउन शुरु गरेको हो । भेरी अस्पताल प्रशासन, नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्जका समाजसेवीहरुको पहलमा अबदेखि शनिबारबाहेक हरेक दिन खाना खुवाइनेछ । यसरी खाना खुवाउन पाउँदा समाजसेवीहरु पनि खुसी छन् ।

अस्पतालमा उपचारका लागि विपन्न वर्ग पनि आउँछन् । जोसँग खाना मात्रै होइन, उपचारका लागि पनि पैसा हुँदैन । यसरी अस्पताल परिसरमै २० रुपैयाँमा खाना खुवाउने भएपछि अस्पताल आएकाहरुलाई सहज भएको छ ।

सामान्य होटलमा सादा खानालाई नै एक सय रुपैयाँ पर्छ । तर भेरी अस्पतालमा २० रुपैयाँमा नै सादा खाना पाइन्छ । विपन्न नागरिकलाई लक्षित गरी खान खुवाउने अभियान निक्कै राम्रो भएकाले यसमा नेपालगन्ज उपमहानगरपालिकाले पनि सहकार्य गरेको छ ।

भेरी अस्पतालको ओपीडी र इमरजेन्सीमा दैनिक करिव १ हजार बिरामी उपचारका लागि आउछन् । उपचारका लागि आउनेमध्ये करिव ५० प्रतिशत गरिब तथा विपन्न परिवारको आउने गर्छन् । अब यो अभियानलाई निरन्तरता दिनुपर्नेमा अस्पतालको जोड छ

नेपालगञ्जमा यसअघि पनि गरिब तथा विपन्नलाई लक्षित गर्दै १० रुपैयाँमै खाना खुवाउने अभियान शुरु भएको थियो । फेरि अहिले अस्पतालमा २० रुपैयाँमा खाना खुवाउने कार्यक्रम शुरु भएको छ । यसरी विपन्न नागरिकलाई लक्षित गर्दै गरिएको यस्ता अभियानले साथमा काम र दाम नहुँदा छट्पटाउनेहरुलाई राहत मिलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *