आर्थिक

दशैँअघि झण्डै साढे तीन करोडको तास आयात (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ९ गते १४:०१
दशैँअघि झण्डै साढे तीन करोडको तास आयात (भिडियोसहित)

९ कात्तिक, २०७७ काठमाडौं । यो वर्षको दसैंका लागि ३ करोड ४२ लाख मूल्य बराबरको १६ लाख बढी प्याकेट तास आयात भएको पाइएको छ । जुवा ऐन २०२० ले जुवातास खेल्नुलाई गैरकानूनी मानेको र कानूनतः जुवातास खेल्न वर्जित गरिए पनि आयातमा कुनै रोकतोक नहुँदा दशैंका लागि ठूलो परिमाणको तास भित्रिएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार दशैंका लागि यो वर्ष १६ लाख १० हजार २ सय ५८ प्याकेट तास आयात भएको देखाएको छ । दशैंका लागि भनेर गएका २ महिनाभित्रै यति ठूलो परिमाणमा तास नेपाल भित्रिएको हो ।

दशैंका लागि तास आयात गर्दा ३ करोड ४२ लाख रुपैयाँ बाहिरिएको छ । कोरोना महामारीका कारण व्यापार सहज नभए पनि त्यसले तासको आयातमा भने कुनै असर नगरेको देखिन्छ । यद्यपि पोहोरको तुलनामा यो वर्ष तासको आयात १ करोड ३१ लाख रुपैयाँले घटेको छ ।

दसैंमा तास आयात :
आर्थिक वर्ष २०७७–७८ को दशैं : ३ करोड ४२ लाख रुपैयाँ
आर्थिक वर्ष २०७६–७७ को दशैं : ४ करोड ७३ लाख रुपैयाँ
आर्थिक वर्ष २०७५–७६ को दशैं : ३ करोड ६ लाख रुपैयाँ

तास आयातमा विदेशिने रकम :
आर्थिक वर्ष २०७६–७७ : २३ करोड ५४ लाख
आर्थिक वर्ष २०७५–७६ : २५ करोड ६ लाख रुपैयाँ
आर्थिक वर्ष २०७४–७५ : १४ करोड ५७ लाख रुपैयाँ

तासको आयातबाट संकलित राजस्व
आर्थिक वर्ष २०७६–७७ : १२ करोड ८५ लाख
आर्थिक वर्ष २०७५–७६ : ११ करोड २७ लाख
आर्थिक वर्ष २०७४–७५ : ५ करोड ४८ लाख

पोहोरको दशैंमा ४ करोड ७३ लाख रुपैयाँ मूल्य बराबरका ३३ लाख ४१ हजार प्याकेट तास आयात भएको थियो । पोहोरको तुलनामा तास आयात केही घटे पनि पछिल्लो तीन वर्षमै तासको आयात झन्डै ९ करोड रुपैयाँले बढेको छ ।

आर्थिक वर्ष २०७४–७५ मा १४ करोड ५७ लाख रुपैयाँ मूल्य बराबरको तास भित्रियो । आर्थिक वर्ष २०७४–७५ मा तासको आयात साढे १० करोड रुपैयाँले बढेर २५ करोड ६ लाख रुपैयाँ नाघ्यो ।

गत आर्थिक वर्षमा २३ करोड ५४ लाख तास आयात भयो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष आयात १ करोड ५२ लाख रुपैयाँले घटेको देखिन्छ । नेपालमा चीन, भारत, थाइल्याण्ड लगायतका देशबाट तास आउने गरेको छ । पछिल्ला तीन वर्षमा मात्रै तासको आयातमा ६३ करोड १७ लाख रुपैयाँ विदेशिएको छ ।

तीन वर्षमा तासको आयातमा विदेशिएको रकमबाट एक दर्जनभन्दा बढी पक्की पुल बनाउन सकिन्छ ।

यसरी देशमा वर्षेनी करोडौँको तास आयात भइरहे पनि कानूनले भने जुव‍ातास खेल्नै रोक लगाएको छ । जुवा ऐन २०२० ले जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी बाजी थापी खेलेको खेल भन्ने सम्झनु पर्दछ भनी व्याख्या गरेको छ ।

त्यसैले तास खेल्नु र खेलाउनुलाई गैरकानुनी मान्दै ऐनले तास खेल्ने खेलाउनेलाई एक वर्षसम्म कैदको व्यवस्था गरेको छ । यही व्यवस्थामा टेकेर प्रहरीले बेलाबेलामा तास खेल्ने र खेलाउनेलाई पक्राउ समेत गर्ने गरेको छ ।

मनोरञ्जनका लागि क्यासिनोबाहेक अन्य ठाउँमा तास खेल्न वर्जित गरिए पनि न त सरकारले तास आयातमा कडाई गरेको छ न त खुलेआम विक्री नै रोकेको छ । यसका पछि तासको आयातबाट ‍सरकारले उठाउने राजस्व प्रमुख कारण हो ।

पछिल्ला तीन वर्षमा मात्रै तासको आयातबाट सरकारले २९ करोड ६० लाख रुपैयाँ राजस्व उठाएको छ । तासको आयातबाट सरकारले आर्थिक वर्ष २०७४–७५ मा ५ करोड ४८ लाख र आर्थिक वर्ष २०७५–७६ मा ११ करोड २७ लाख उठाएको छ ।

गत आर्थिक वर्ष १२ करोड ८५ लाख रुपैयाँ तास आयातबाट संकलन भयो । राजस्व संकलन घट्न सक्ने डरमा सरकारले तासको आयातमा कडाई नगरेको हो । तर सरकारको यीनै गलत नीतिले वर्षेनी व्यापार घाटा चुलिँदै गएर वार्षिक बजेटभन्दा बढी हुन थालिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *