Main News

पूर्वप्रधानमन्त्री डा‍ भट्टराईलाई कोरोना संक्रमण भएपछि प्रश्नै प्रश्न, लापरवाही गरेको आरोप (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ८ गते २०:२९
पूर्वप्रधानमन्त्री डा‍ भट्टराईलाई कोरोना संक्रमण भएपछि प्रश्नै प्रश्न, लापरवाही गरेको आरोप (भिडियोसहित)

८ कात्तिक, २०७७ काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको छ । डाक्टर भट्टराईले सामाजिक सञ्जालमार्फत् आफु र पत्नी हिसिलालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।

कात्तिक ७ गते स्वाबको परीक्षण नतिजा पोजिटिभ आएपछि चिकित्सकको सल्लाहमा दुवै जना होम आइसोलेसनमा हुनुहुन्छ । भट्टराईले केही समययता सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । तर सामाजिक सञ्जालमा डाक्टर भट्टराईको स्वास्थ्य लाभको कामना सहित केही समय यताका उहाँका व्यवहारको आलोचना भएको छ । भट्टराईले लापरवाही गर्दा नै संक्रमण फैलिएको आरोप छ ।

शुक्रबार बिहान आठ बजेर २९ मिनेटमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफू र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको जानकारी दिनुभयो । र , केही समययता आफ्नो सम्पर्कमा रहेकाहरुलाई पनि सतर्क रहन अपील पनि गर्नुभयो । तर यही जानकारी र अपीललाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले डाक्टर भट्टराईमाथि प्रश्न उठाएका छन् ।

उनीहरुले भट्टराई र यमीको स्वास्थ्य लाभको कामनासँगै जे भयो त्यो भट्टराईकै गल्तीले भएको टिप्पणी गरेका छन् । किनकी उनीहरुका अनुसार भट्टराईले सामाजिक दूरी कायम राख्ने भीडभाडमा नजाने स्वास्थ्य सुरक्षा प्रोटोकलको पालना गर्नुभएको छैन ।

सामाजिक सञ्जाल प्रयोगकर्ताको यो आक्रोश र आवाज सही छ, किनकी पछिल्लो एक महिनायताका भट्टराईका गतिविधि हेर्ने हो भने त्यो पुष्टि हुन्छ । किनकी भट्टराई पछिल्लो पटक ठूला सभाहरुमा सहभागी हुनुभएको छ, जहाँ सामाजिक दूरी र कोरोनाबाट बच्न सुरक्षाका उपाय अपनाइएको छैन ।

जनता समाजवादी पार्टीले पर्साको सखुवा पर्सौनी गाउँपालिका र विन्दबासिनी गाउँपालिकामा पनि कार्यक्रम गरेको थियो । कोरोना संक्रमणबाट जोगिनका लागि जारी गरिएका स्वास्थ्य सुरक्षाका उपाय मिचेर गरिएका यी कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईसहित पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको उपस्थिति थियो । र, यस्ता कार्यक्रममा आफ्नो उपस्थितिलाई भट्टराईले सगर्व सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको थियो ।

यी कार्यक्रममा केटाकेटी, बुढाबुढी सबै उपस्थित थिए । पर्साबाट काठमाडौं फर्केका भट्टराई ५१ सदस्यीय जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी परिषद बैठकमा पनि सहभागी हुनुभयो, यो कात्तिक ३ र ४ गतेको कुरा हो अर्थात भट्टराईलाई कोरोना पुष्टि हुनु तीन दिन अघिको ।

पर्सा जानुअघि र पर्साबाट फर्केपछि पनि भट्टराईले विभिन्न सामाजिक गतिविधिमा भाग लिनुभएको छ । गोर्खादेखि काठमाडौंसम्म उहाँले भीडभाडयुक्त कार्यक्रम गर्नुभएको छ । र, त्यस्ता सूचना उहाँले आफै सामाजिक सञ्जालबाट जानकारी दिने गर्नुभएको छ । पछिल्लो पटक कोरोना संक्रमित भएपछि भट्टराईका यिनै गतिविधिमाथि सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न उठाएका हुन ।

किनकी भट्टराईले आफ्नो सम्पर्कमा रहेकालाई सचेत रहन गरेको अपीललाई उनीहरुले सहजै ग्रहण गर्न सकेका छैनन् । यो बीचमा भट्टराईले भाग लिएका कार्यक्रममा उपस्थित बालबालिकादेखि बुढाबुढीसम्म संक्रमणको जोखिम रहेको देखिन्छ ।

त्यसैले भट्टराईका गतिविधि कोरोना संक्रमण फैलाउन सहयोगी भए भन्ने उनीहरुको मत छ । र, प्रश्न उठाएका छन् । संक्रमणमूक्त भएपछि आगामी दिनमा कोरोना कहरको यो जोखिममा डाक्टर भट्टराईले यी जायज सुझाव, आलोचना र प्रश्नलाई मनन गर्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *