Main News

देशका विभिन्न अस्पतालमा उपचाररत पाँच महिने शिशुसहित थप चार जना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक ८ गते १२:४२
देशका विभिन्न अस्पतालमा उपचाररत पाँच महिने शिशुसहित थप चार जना संक्रमितको मृत्यु

८ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट सुनसरीमा दुई, बाँके र रुपन्देहीमा थप एकएक जनाको मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– १ धम्बोजीका ५० वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

असोज २६ गते कोरोना संक्रमण पुष्टि भएपछि २७ गते अस्पताल भर्ना भएका ती पुरुषको शुक्रबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।

यस्तै रुपन्देहीमा पनि थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका– ७ का ७५ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा आज बिहान मृत्यु भएको हो ।

कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका ती पुरुषको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुई जनाको ज्यान गएको छ । मोरङ, सुन्दर हरैँचाका शिशुको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उनलाई शुक्रबार नै संक्रमण पुष्टि भएको थियो । पाँचमहिने छोरीलाई दिमागसम्बन्धी रोगको समस्या भएको थियो ।

यस्तै शुक्रबार अपराह्न धरान–११ की ५२ वर्षीया एक महिलाको पनि प्रतिष्ठानमै उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घ रोग भएको बताइएको छ ।

उनलाई यही कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भई ५ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *