राजनीति

‘रअ’ प्रमुख किन आए, के कुरा भयो ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ७ गते २०:०९
‘रअ’ प्रमुख किन आए, के कुरा भयो ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ (भिडियोसहित)

७ कात्तिक, २०७७ काठमाडौं । बुधबार अनौपचारिक भ्रमणका रुपमा नेपाल आएको भनिएका भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेटले यतिबेला राष्ट्रिय राजनीतिमा नै ठूलो हलचल ल्याएको छ ।

सीमा विवादका सम्बन्धमा दुई देशका उच्च राजनीतिक तहमै छलफल हुन नसकेको अवस्थमा प्रधानमन्त्रीले गुप्तचर प्रमुखलाई भेटेर नेपालको परराष्ट्र नीति मात्र होइन राजनीतिक सम्बन्ध पनि कमजोर भएको र गुप्तचर संस्थाको प्रवेश भएको आशंका हुन थालेको छ ।

भारतले लिम्पियाधुरा लिपुलेक लगायतका भूमि आफ्नो नक्सामा राखेपछि पेचिलो बनेको नेपाल–भारत सम्बन्ध यतिबेला संवादहीनताको अवस्थामा छ । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई जन्मदिनका अवसरमा र भारतको स्वतन्त्रता दिवसका अवसरमा फोन गरेर शुभकामना दिनु बाहेक सीमा विवादबारे दुई देशका प्रधानमन्त्रीबीच सम्वाद भएको छैन ।

यतिसम्म की नेपालले मितिनै तोकेर वार्ता गरौ‌ भनेर राखेको प्रस्ताव भारतले विभिन्न बहानामा टार्दै आएको छ । तर यस्तो अवस्थामा भारतीय गुप्तचर संस्थाका प्रमुख नेपाल आएर गुपचुप प्रधानमन्त्रीलाई भेटेर फर्केका छन् । यसले राजनीतिक सम्बन्ध कमजोर भएको देखाउँछ ।

नेपाल र भारतबीच राजनीतिक र कूटनीतिक तहबाट छलफल र संवाद गरेर सम्बन्ध सुधार्ने ठाउँ रहँदारहँदै रअ प्रमुखसँग ओलीको भेटले दुईपक्षीय मामिलामा गुप्तचरी संयन्त्रको प्रवेश भएको छ । यसले राज्यका अरु संयन्त्रको भूमिका माथि मात्रै होइन, प्रधानमन्त्रीको नियतमाथि पनि प्रश्न उठेको छ ।

यति मात्र होइन प्रधानमन्त्री ओलीको गोयलसँगको दुई घण्टाको गोप्य भेटबारे के कुरा भयो भन्ने कुरा पनि गोप्य राखिएको छ । त्यसैले यो कूटनीतिको विषय मात्रै होइन । गलत भएको छ र यसबारे प्रधानमन्त्रीले देशलाई जानकारी दिनैपर्ने बताउनुहुन्छ, राजनीतिक विश्लेषक हरि रोका ।

प्रधानमन्त्रीको छवि राष्टवादी छ, तर यतिबेला गोयलसँगको भेटले उहाँमाथि गम्भीर प्रश्न उठेका छन् । किनकी राजनीति र कूटनीति भन्दा पर प्रोटोकलसमेत मिचेर एउटा गुप्तचर संस्थाको प्रमुखलाई भेटेर प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्थालाई फेरि गलत ढंगले स्पेश दिएको हो कि भन्ने प्रश्न उठेको छ, त्यसबारे उहाँले प्रष्ट पार्नुपर्छ । किनकी यो कुनै एउटा व्यक्तिको विषय होइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्