Main News

प्रधानमन्त्री ओली र भारतीय गुप्तचर प्रमुखबीच भएको भेटको अनुसन्धान गर्न सांसद थापाको माग

हिमालय टिभी
२०७७ कार्तिक ७ गते १९:११
प्रधानमन्त्री ओली र भारतीय गुप्तचर प्रमुखबीच भएको भेटको अनुसन्धान गर्न सांसद थापाको माग

७ कात्तिक, २०७७ काठमाडौं । कूटनीतिक मर्यादाविपरीत भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई गोप्य रुपमा भेटेपछि प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर विवादमा पर्नुभएको छ ।

राष्टवादी छवि बनाएर सत्तामा पुगेका ओलीको राष्टवादमाथि नै यति बेला विभिन्न क्षेत्रबाट प्रश्न उठाइएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री गगन थापाले विज्ञप्ति निकालेर प्रधानमन्त्री ओली र रअ प्रमुख सामन्तकुमार गोयलबीचको भेटको अनुसन्धान गर्न माग गर्नुभएको छ ।

यो भेटले प्रधानमन्त्री ओलीबाटै नेपालको राष्टिय सुरक्षामा थ्रेट देखाएको थापाको तर्क छ । थापाका अनुसार परराष्ट मन्त्रालय र सुरक्षा निकायको अनुपस्थितिमा प्रधानमन्त्रीले विदेशी गुप्तचर प्रमुखलाई भेट्नु कूटनीतिक मर्यादा मात्रै होइन, राष्टिय सुरक्षाको विषय हो ।

भारतीय गुप्तचर संस्थाका प्रमुखसँगको भेटले नेपाल र भारतबीच पछिल्लो पटक देखिएको समस्या समाधान पनि नहुने थापाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओली नेपालको अन्तर्राष्टिय सम्बन्धलाई सही दिशा निर्देश तथा राष्टिय हितमा प्रयोग गर्न पूर्ण रुपले अक्षम भएको थापाको दावी छ ।

यस्तै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पनि प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलबीचको भेटबारे गम्भीर आशंका गरेको छ ।

महासचिव मोहन वैद्य किरणले विज्ञप्ति निकालेर यो भेटले राष्ट्रिय स्वाभिमान खिल्ली उडेको टिप्पणी गर्नुभएको छ । नेपालमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारी हुन सक्ने भन्दै क्रान्तिकारी माओवादीले भेटको विरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *