Main News

टुँडिखेलमा सेनाको हर्ष बढाइ, हनुमानढोकामा फूलपाती भित्राइयो (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ७ गते १८:५४
टुँडिखेलमा सेनाको हर्ष बढाइ, हनुमानढोकामा फूलपाती भित्राइयो (भिडियोसहित)

७ कात्तिक, २०७७ काठमाडौं । आज नवरात्रीको सातौं दिन अर्थात फूलपाती । घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ ।

बडा दशैंको सातौँ दिन आज घर घरमा फूलपाती भित्र्याइएको छ । काठमाडौंको दशैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइयो । गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्करले जमलमा पुगेर डोलामा राखी फूलपाती हनुमान ढोका ल्याएका थिए ।

फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पूल, मान वृक्ष र अन्य मौसम अनुसारका फूलहरु समावेस गरिएको हुन्छ । लावालस्कर सहित डोलामा ल्याइएको फूलपातीलाई दशैं घरमा भित्र्याइएको हो ।

दशैं घरमा भित्र्याउनुपूर्व फूलपातीलाई विधिपूर्वक पूजा अभिशेक गरिएको थियो । नवदुर्गाका विभिन्न स्वरुपसँग गासिएको पृष्पवृक्षका प्रकारहरुमा उखुमा कालिका, हलेदोमा दुर्गा, केराको बोटमा ब्रम्हायणी, धानको बालामा लक्ष्मी, बेलपत्रमा शिवा, दारिममा रक्तदन्तिका, जयन्तीमा कार्तिकी, अशोकको फूलमा शोकरहिता, मान वृक्षमा चामुण्डा देवीको बास रहने शाष्त्रीय मान्यता छ ।

दशैं घरमा आज भित्र्याइएको फूलपाती दशमीको दिन टिका जमरासँगै देवीको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा छ ।

दशैंघरमा फूलपाती भित्र्याइएपछि नेपाली सेनाले टुँडिखेलमा हर्ष बढाईं गरेको छ । सेनाको हर्ष बढाईं अवलोकन गर्न राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुनुभयो ।

काठमाडौंमा कोरोना संक्रमणको जोखिम बढेसँगै नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा गर्दै आएको हर्ष बढाईंलाई यो वर्ष सामान्य रुपमा सम्पन्न गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *