Main News

प्रधानमन्त्री ओलीको दशैं शुभकामनामा नेपालको पूरानै नक्सा प्रयोग, कांग्रेसको आपत्ति

हिमालय टिभी
२०७७ कार्तिक ७ गते १३:००
प्रधानमन्त्री ओलीको दशैं शुभकामनामा नेपालको पूरानै नक्सा प्रयोग, कांग्रेसको आपत्ति

७ कात्तिक, २०७७ काठमाडौं । दशैंको शुभकामना दिँदा प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको भू–भाग नसमेटिएको नेपालको नक्सा प्रयोग गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत दसैँको शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले पुरानो नक्सा प्रयोग गर्नुभएको छ । तस्वीरमा नेपालको निशान छाप अंकित गरिएको छ तर छापमा रहेको नेपालको नक्सामा हालै संविधान संशोधन गरेर समेटिएको लिम्पियाधुरासहितको भूभाग छैन ।

प्रधानमन्त्री ओलीले लिम्पियाधुरा नसमेटिएको नेपालको नक्सा प्रयोग गरेपछि प्रमुख विपक्षी नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ। संसदले पारित गरेको देशको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी छ कि यहाँको नेतृत्वमा विसर्जन भयो भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमा लेख्नुभएको छ–लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौँ सम्माननीय प्रधानमन्त्री ज्यू गम्भीर विमति दर्ज होस् । ’

भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेट भएको पर्सिपल्ट आएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा पूरानै नक्सा प्रयोग हुनुलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ।

आज बिहान ९ बजेर २३ मा प्रधानमन्त्रीको निजी ट्वीटर ह्याण्डलबाट शुभकामना जारी भएको थियो। सन्देशको नक्सामा त्रुटि रहेको धेरैले औंल्याएको भए पनि सच्याइएको छैन। यो त्रुटिका विषयमा ओलीका पक्षबाट कुनै प्रष्टिकरण आएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *