आर्थिक

कोरोनाको सकारात्मक प्रभाव: आयात घट्यो निर्यात बढ्यो (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ६ गते २०:३९
कोरोनाको सकारात्मक प्रभाव: आयात घट्यो निर्यात बढ्यो (भिडियोसहित)

६ कात्तिक, २०७७ काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा आयात १२ प्रतिशतले घटेको छ भने निर्यात १४ प्रतिशतले बढेको छ । पोहोरको तुलनामा यसपटक पहिलो ३ महिनामा व्यापार घाटा ४५ अर्ब ८७ करोड रुपैयाँ घटेको छ ।

समग्र तीन महिनाको तथ्यांकमा आयात घटे पनि असोजमा भने ७ प्रतिशतले बढेको छ । चैतयता अर्बमा सीमित आयात असोजमा भने ७ महिनापछि खर्ब नाघेको छ । यसले वैदेशिक व्यापार पुरानै लयमै फर्कन सुरु गरेको देखाएको छ ।

भन्सार विभागको पछिल्लो तथ्यांकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा वैदेशिक व्यापारमा ३८ अर्ब १३ करोड रुपैयाँको संकुचन आएको देखाएको छ । चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा ३ खर्ब २३ अर्ब ४ करोड रुपैयाँ बराबरको मालवस्तुको वैदेशिक कारोबार भएको छ ।

गत वर्षको साउन, भदौ र असोजमा मा ३ खर्ब ६१ अर्ब १७ करोड रूपैयाँको वैदेशिक व्यापार भएको थियो । यो अवधिमा आयात २२ अर्ब रुपैयाँले घटेको छ भने निर्यात ३ अर्ब ८७ करोड रुपैयाँले बढेको छ ।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ३४ अर्ब रुपैयाँको मालवस्तु आयात भएकोमा यसवर्ष २ खर्ब ९२ अर्ब रुपैयाँमा सीमित भएको छ ।

पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्टपुर्जा, मेशिनरी बस्तु, कच्चा पाम तेलको आयातको आयात घटेको विभागको तथ्यांकले देखाएको छ ।

यस्तै गतवर्ष २७ अर्ब १६ करोड मूल्य बराबरका मालवस्तु निर्यात भएकोमा यो वर्ष ३२ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । आयुर्वेदिक औषधि, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ ।

आयात र निर्यातको यो अन्तरले मुलुकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ खर्ब ६० अर्ब ९६ करोड रुपैयाँ व्यापार घाटा व्याहोरेको छ । यद्यपी यो व्यापार घाटा गत वर्षको तुलनामा ४५ अर्ब ८७ करोड रुपैयाँले कम हो । गत वर्षको यसै अवधिमा ३ खर्ब ६ अर्ब रुपैयाँको व्यापार घाटा थियो ।

वैदेशिक व्यापारमा देखिएको संकुचनको सिधा असर राजस्व संकलनमा परेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा भन्सारबाट ९३ अर्ब ४६ करोड रूपैयाँ राजस्व संकलन भएको थियो ।

तर यो वर्षको सोही अविधमा राजस्व ७ अर्ब ८४ करोड रुपैयाँले घटेर ८५ अर्ब ६२ करोड रुपैयाँ मात्र उठेको छ । तीन महिनाको समग्र वैदेशिक व्यापारमा आयात घटेको, निर्यात बढेको र राजस्व संकलनमा गिरावट आएको देखिए पनि असोज महिनाको वैदेशिक व्यापारको फरक चित्र देखिएको छ । असोजमा गत वर्षको तुलनामा आयात ७ प्रतिशत बढेको छ ।

गत वर्षको असोजमा १ खर्ब ४ अर्ब ५० करोड रुपैयाँको आयात भएकोमा यो वर्षको असोजमा १ खर्ब १३ अर्ब रुपैयाँको सामान मालवस्तु आएको छ । गत फागुनमा १ खर्ब २० अर्ब रुपैयाँको आयात भएको थियो । तर कोरोना संक्रमणले महामारी रुप लिन थालेपछि चैतदेखि भने आयातको आँकडा अर्बमा सीमित हुँदै आएको थियो । तर ६ महिनापछि असोजमा भने आयात खर्ब नाघेको हो ।

यस्तै असोजमा निर्यात र राजस्व संकलन दुबैमा सुधार देखिएको छ । पोहोर असोजमा ८ अर्ब ६६ करोड रुपैयाँको सामान निर्यात भएकोमा यसवर्ष निर्यात १० अर्ब ६० करोड रुपैयाँ नाघेको छ ।

यो पोहोरको तुलनामा २२ प्रतिशतले बढी हो । आयात र निर्यात दुबै बढ्दा पोहोरको तुलनामा राजस्व संकलन समेत बढेको छ । गत वर्ष असोज महिनामा ३० अर्ब ५५ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको थियो ।

तर यो वर्षको असोजमा राजस्व संकलन ७ अर्ब २४ करोड रुपैंयाँले बढेर ३७ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । यसले वैदेशिक व्यापारमा कोरोना महामारीको असर कम हुँदै गएको र पुरानै लयमा फर्कन शुरु गरेको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *