Main News

उद्घाटन भए ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कूल (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ५ गते २०:०७
उद्घाटन भए ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कूल (भिडियोसहित)

५ कात्तिक, २०७७ काठमाडौं । २०७२ सालको भूकम्पले भत्किएका दुईवटा संरचनाको पुनर्निर्माणपछि आज एकै दिन औपचारिक उद्घाटन गरिएको छ । ऐतिहासिक एवम पुरातात्विक महत्वको रानीपोखरी र नेपालकै जेठो विद्यालय दरबार हाइस्कुलको उद्घाटन भएको हो ।

रानी पोखरी मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको छ भने दरबार हाइस्कुल पनि पुरानै शैलीमा भूकम्प प्रतिरोधि प्रविधिमा पुनर्निर्माण भएको छ ।

२०७२ साल वैशाख १२ को भुकम्पले भत्किएको रानीपोखरी पुनर्निर्माणको काम त्यही वर्षको माघमा सुरु गर्ने गरी शिलान्यास गरिएको थियो । तर पुरातात्विक सम्पदा भएकोले यसको शैलीदेखि अरु धेरै कुरामा विवाद भयो ।

प्रताप मल्लले बनाएको रानीपोखरी र यहाँको संरचना मल्लकालीन शैलीमा बनाउने की राणाकालीन शैलीमा भन्नेमै विवाद देखियो । र यसले पुनर्निर्माणमा बाधा पुग्यो। तर मल्लकालीन स्वरुप र शैलीमै बनाउनुपर्ने स्वर बलियो भयो । र रानी पोखरी प्रतापमल्लकालीन ग्रन्थकुट शैलीमा पुनर्निर्माण भयो । र बुधवार राष्ट्रपतिबाट यसको औपचारिक उद्घाटन पनि भयो । रानीपोखरीको उद्घाटनमा राष्ट्रपति, प्रधानमन्त्री लगायतले विभिन्न जलकुण्डबाट ल्याइएको जल रानी पोखरीमा अर्पण पनि गर्नुभयो ।

रानीपोखरीको उद्घाटनसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीदेखि रत्नपार्क, खुलामञ्च, टुँडिखेल हुँदै रंगशालासम्मको क्षेत्र समेटेर बृहत् टुँडिखेल गुरुयोजना घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बृहत रानीपोखरी गुरुयोजनाले काठमाडौंलाई विशाल खुलाक्षेत्र दिने भन्दै खुशी व्यक्त गर्नुभयो । अर्थात अतिक्रमणको चपेटामा परेका यी क्षेत्र अब खुल्ला हुने आशा जागेको छ ।

रानीपोखरीको निर्माणमा सम्पदासम्बद्ध उपभोक्ता समिति संलग्न रह्यो भने मन्दिर निर्माणको जिम्मा सीएम कन्स्ट्रक्सनले पाएको थियो । करिब २८ करोड रुपैयाँको लागतमा पुननिर्माण भएको रानीपोखरी अब सर्वसाधारणका लागि खुला हुनेछ । तर बालगोपालेश्वर मन्दिर ‍भने वर्षको एक दिन अर्थात भाइटीकाको दिनमात्र खुला हुन्छ ।

त्यसैले पाँच वर्षदेखि बन्द मन्दिर यो वर्षको भाई टीकाको दिन खुला हुनेछ । रानीपोखरी उद्घाटन लगत्तै सँगै रहेको दरबार हाइस्कुलको पनि उद्घाटन भयो । यो विद्यालय चीन सरकारको सहयोगमा पुनर्निर्माण भएको हो । पूरानै शैलीमा तर सुविधासम्पन्न बनाइएको विद्यालयको भवन भुकम्प प्रतिरोधी पनि छ । त्यसैले यो विद्यालयले आफ्नो ऐतिहासिक गरिमालाई झन उचो बनाउँदै नेपालका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको मानक कायम राख्न सफल हुने राष्ट्रपतिको विश्वास छ ।

भुकम्पले भत्किएको रानीपोखरी र दरबार हाइस्कुल त जसो तसो ठडियो । तर भूकम्पले भत्किएका अन्य सम्पदा कहिले ठडिने हो पत्तो छैन । त्यसैले ती सम्पदाको पुननिर्माण पनि अझ बलियो र मौलिक स्वरूपमा योजनावद्ध रूपमा छिट्टै सम्पन्न गर्नेतर्फ सरकार लागि पर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *