समाज

सधैँ यात्रुले खचाखच हुने बुटवल बसपार्क यो वर्ष यस्तो सुनसान (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ५ गते १४:५०
सधैँ यात्रुले खचाखच हुने बुटवल बसपार्क यो वर्ष यस्तो सुनसान (भिडियोसहित)

५ कात्तिक, २०७७ बुटवल । बुटवलको बसपार्कबाट देशका अधिकांश ठाउँमा जाने गाडी छुट्छन् । लुम्बिनी प्रदेशका १२ जिल्लाको त यो हब नै हो । सधैं भरिभराउ हुने बसपार्क यति बेला भने सुनसान छ । गत वर्ष दशैं सुरु हुनुभन्दा अघिदेखि नै अग्रिम टिकट बुकिङ्ग खोलेर काउण्टर भरिभराउ हुने गर्दथ्यो भने बस खचाखच यात्रुले भरिन्थे । तर यो वर्ष भने दृश्य फरक छ ।

यतिबेला बुटवलको बसपार्क सुनसान छ । यसअघि दशैंको पूर्वसन्ध्यामा यो बसपार्क यसरी कहिल्यै पनि सुनसान हुने गरेको थिएन । सधैंको दशैंमा खचाखच यात्रु हुन्थे । व्यवसायीलाई भ्याइ नभ्याई हुन्थ्यो । त्यी सोचेर ब्यवसायी दशैमा यात्रुले बस भरिएला र बैंकको किस्ता तिरौंला भन्ने आशा थियो । तर लकडाउन र निषेधाज्ञाले छ महिना गाडी ग्यारेजमा थन्क्याएका व्यवसायी अहिले फेरि निराश छन् । दशैंको बेलामा गाडी चलाए पनि खर्च उठ्ने स्थिति छैन ।

यातायात व्यवासायी ओमप्रकाश भारती मात्र होइन बिमल पोखरेल पनि यात्रुलाई कुर्दै बसपार्कमा बस्नु भएको छ । दशैमा यात्रुले भरिभराउ हुने सपना देखेका उहाँले अहिले बस रित्तै गुडाउनु परेको छ । बसलाई थन्काएर राख्दा ईन्जिन बिग्रिने भएकाले बाध्य भएर खाली नै भए पनि उहाँले बस चलाउनु परेको छ ।

बुटवल बसपार्क बसले भरिएको छ । तर ती बस याुत्रविहीन छन् । चड्ने यात्रु नहुँदा यातायात व्यवसायी मात्र होइन यस क्षेत्रमा काम गर्ने मजदुर पनि निराश देखिन्छन । यात्रुलाई बोलाउँदै जाँदा पनि यात्रु भेटाउनै गाह्रो परेको छ ।

चाडर्पव नजिकिएसँगै पोहोर परार एक महिनाअघि नै अग्रिम टिकट बुकिङ्ग खुल्ने भएपनि यसपाली दशैं शुरु हुँदासम्म पनि यात्रुको चहलपहल छैन । यातायात व्यवसायी र मजदूर चाडबाडमा थप गाडी व्यवस्थापन गर्नु परेका दिन सम्झँदै बसेका छन् । लकडाउनका बेला चैतमा नै घर पुगेका यात्रुहरु शहर नफर्केकाले दशैंमा यात्रु पाउन मुस्किल परेको यातायात व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *