Main News

आज घरघरमा स्कन्दमाताको पूजा आराधना गरिँदै

हिमालय टिभी
२०७७ कार्तिक ५ गते ६:४९
आज घरघरमा स्कन्दमाताको पूजा आराधना गरिँदै

५ कात्तिक, २०७७ काठमाडौं । हिन्दू नेपालीहरुको महान चाड वडादशैँको पाँचौं दिन आज दुर्गा भवानीका ९ रुपमध्ये पाँचौं रुप स्कन्दमाता भगवतीको पूजाआजा गरिँदैछ ।

घटस्थापनासँगै नवदुर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ । दशैँको पाँचौं दिन आज पनि देशभरका नवदुर्गा मन्दिर र शक्तिपीठहरुमा बिहानैदेखि नित्य पुजा गरिएको छ । शक्तिपिठहरुमा भक्तजनहरु पनि सामान्य उपस्थिति रहेको छ ।

राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा बाहिरबाटै पुजा गर्न केही भक्तजनहरु पुगेका छन् । त्यस्तै, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा पनि नित्य पुजा गरिएको छ ।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा र गोरखाको मनकामना, नुवाकोटको जालपा लगायतका शक्तिपीठहरुमा नवदुर्गा अवधिभर नित्य पूजा भइरहेको छ ।

यो वर्ष कोरोना संक्रमणका कारण शक्तिपिठहरुमा नित्य पूजा मात्र गरिएको छ ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद् देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *