Main News

नेताहरु भन्छन –बीआरआई नेपालका लागि ‘गेम चेञ्जर’ (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ४ गते २०:४०
नेताहरु भन्छन –बीआरआई नेपालका लागि ‘गेम चेञ्जर’ (भिडियोसहित)

४ कात्तिक, २०७७ काठमाडौं । चीनका राष्ट्रपति सि जिङफिङको महत्वाकांक्षी परियोजना हो, बीआरआई अर्थात बेल्ट एण्ड रोड इनिसियटिभ । छिमेकी राष्ट्रको यो परियोजनामा नेपालले पनि सामेल हुने भनेर हस्ताक्षर गरेको छ ।

तर त्यसका लागि खासै काम भएको छैन । यस्तो अवस्थामा बीआरआईबारे चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आज भर्चुअल अन्तरक्रिया गरेको छ, जहाँ नेपाली नेताहरु सहभागी हुँदै यसलाई सफल पार्नुपर्नेमा जोड दिएका छन् ।

चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ अर्थात बीआरआई यस्तो परियोजना हो, जसबाट चीनले विश्वभरको व्यापारमा आफ्नो प्रभाव मजबुत बनाउँदै संरचनाको विकास र लगानी बढाउने लक्ष्य राखेको छ ।

बीआरआई अन्तर्गत समुद्री मार्ग र स्थलमार्ग समावेश छन् । चीनले सारेको यो परियोजनामा नेपालले पनि हस्ताक्षर गरिसकेको छ । यसले नेपालको आर्थिक स्तरपनि माथि उठ्ने विश्वास छ । तर यसका लागि खासै भएको छैन, यस्तो अवस्थामा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्टिय विभागले मंगलबार अन्तरक्रिया नै गर्यो ।

जहाँ नेपाली नेताहरुले सक्रियतापूर्वक भाग लिएर र यसलाई अघि बढाउनुपर्नेमा जोड दिए । शान्ति, स्थायित्व र विकासका लागि बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना महत्वपूर्ण हुने सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विश्वास छ ।

यो परियोजनामार्फत चीनले विश्वका ६५ देशलाई जोड्दै विश्वको कुल गार्हस्थ उत्पादनको ३० प्रतिशत ओगट्ने र विश्वका ६२ प्रतिशत मानिसलाई समावेश गर्न चाहेको छ ।

त्यसैले बीआरआईका ९ वटा आयोजना अन्तर्गत ट्रान्स–हिमालयन कनेक्टिभिटिले नेपाली नागरिकलाई सबैभन्दा बढी आकर्षित गर्ने पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको विश्वास छ । त्यति मात्रै होइन, डाक्टर भट्टराईलाई यसले नेपालको विश्वव्यापी मूल्य श्रृंखलामा पहुँच पुर्याउन सघाउ पुर्याउँछ भन्ने लागेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले बेल्ट एण्ड रोड परियोजना अन्तर्गत छनोट गरेका ९ वटा आयोजनालाई छिट्टै अन्तिम रुप दिएर कार्यान्वयनमा जानुपर्नेमा जोड दिनुभयो । नेपालले अघि सारेको ‘समृद्ध नेपाल सुखि नेपाली’ अभियानलाई सार्थक बनाउन समेत बिआरआई परियोजना महत्वपूर्ण हुने तिमिल्सिनाको विश्वास छ ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको वार्षिकोत्सवको अवसर पारेर चिनियाँ कम्युनिष्ट पार्टीले गरेको ‘चीन–नेपाल बेल्ट एन्ड रोड को–अपरेसनमा राजनीतिक दलहरुको प्रथम संयुक्त परामर्श सम्मेलन’ आयोजना गरेको हो । र, यसमा नेपाली नेताहरुले बीआरआईको महत्वबारे बोलेका छन । तर कुरा होईन, काम चाहिँ कहिले गर्ने प्रश्न चाहिँ यो हो रु किनकी सीको भ्रमणपछि नेपालका तर्फबाट हुनुपर्ने काम भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *