भारत पु–‌याइएका २४ बालबालिकाको उद्धार (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ४ गते २०:३७
भारत पु–‌याइएका २४ बालबालिकाको उद्धार (भिडियोसहित)

४ कात्तिक, २०७७ भैरहवा । रोजगारी लगाइदिने भन्दै भारतको विभिन्न ठाउँमा पुर्‍याइएका २४ बालबालिकालाई उद्धार गरी नेपाल ल्याइएको छ । दिल्लीस्थित नेपाली दूतावास, दिल्ली प्रहरी, दिल्ली महिला आयोगको सहयोगमा उद्धार भएका ती बालबालिकालाई रुपन्देहीको बेलहिया नाकाबाट नेपाल ल्याइएको हो ।

भारतबाट उद्धार गरिएका २४ मध्ये १९ जना बालकलाई असोज ११ गते नवलपरासीको ठूटीबारी नाकाबाट ४ जना नेपाली एजेन्टले भारत छिराएका थिए । काम दिने भन्दै लगिएका उनीहरुको उत्तर प्रदेशको गाजियावादबाट उद्धार भयो ।

यस्तै, ४ जना बालिकालाई करिब तीन महिना अघि कानपुर र हरियाणाबाट आफन्त नेपाल संस्था र अर्का एक जना बालकलाई ५ महिना अघि उद्धार गरेर गाजियाबादको आश्रममा राखिएको थियो । चार जना नेपाली एजेन्टलाई समेत भारतीय प्रहरीले पक्रेको छ ।

उद्धार गरिएका बालबालिकालाइ महिला तथा बालबालिका मन्त्रालयका प्रतिनिधिको जिम्मा लगाइएको छ । केहीलाई बेलहिया नाकाबाटै आफन्त, केहीलाई रुपन्देही प्रहरीमार्फत र बाँकीलाई नवलपुर प्रहरी कार्यालयमा लगेर आफन्तको जिम्मा लगाइनेछ ।

उद्धार गरिएकामध्ये १८ जना बालक नवलपुरका हुन् । यस्तै १ जना दाङ र अर्का बालक सुर्खेतका छन् । यस्तै ४ बालिकामध्ये २ जना बारा तथा रुपन्देही र पर्वतका एक एक जना छन । उनीहरुको उमेर १२ देखि १७ वर्षसम्म रहेको नेपाली दूताबासले जनाएको छ ।

नेपाल, भारत दुबै देशको कानूनले बाल श्रममा रोक लगाएको छ । तर कोही आफन्तसँगै त कोही एजेन्टसँग रोजगारीका लागि भन्दै भारत जाने गरेका छन् । रोजगारी दिने भनेर भारत लगिने गरे पनि पछिल्लो समय बालबालिकाको अंग झिक्ने उद्देश्य समेत हुनसक्ने आशंका छ ।

भारतमा पछिल्लो पटक बालबालिकालाई बेहोस बनाएर तस्करहरुले अंग निकाल्ने गरेका घट्ना सार्वजनिक भैरहेका छन् । त्यसैले आफ्ना बालबालिका सुरक्षित छन् कि छैनन् भन्ने तर्फ अभिभावकले ध्यान दिनुपर्छ भने सीमा नाकाहरुमा पनि सरकारलाई कडाई गर्नु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *