Main News

यस्तो छ बुधबार उद्घाटन हुने रानीपोखरी (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ४ गते २०:३३
यस्तो छ बुधबार उद्घाटन हुने रानीपोखरी (भिडियोसहित)

४ कात्तिक, २०७७ काठमाडौं । २०७२ सालको भूकम्पमा भत्किएको काठमाडौंको रानीपोखरी पहिलेकै स्वरुपमा पुनर्निर्माण भएको छ । र यसको बुधबार उद्घाटन गर्ने तयारी छ ।

रानी पोखरीमा बिहे घरको जस्तै चटारो छ । पोखरीमा पानी हाल्न ।पोखरी वरपरको फूलबारी सम्याउन सिँगार्न भ्याइ नभ्याइ छ ।

नेपाली सेनाको एउटा टोली मञ्च निर्माणमा व्यस्त छ । यो चटारो बुधबार हुन लागेको रानीपोखरी उद्घाटन कार्यक्रमका लागि हो ।

राजा प्रताप मल्लले पुत्र शोकमा रहेकी आफ्नी रानीलाई खुसी पार्न १७२७ सालमा रानीपोखरी निर्माण गरेका थिए । तर २०७२ साल बैशाख १२ गतेको भुकम्पले यो ऐतिहासिक एवम् पुरातात्विक सम्पदा भत्कियो ।

यसको महत्वलाई बुझेर सोही वर्षको माघमा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निमार्णको शुभारम्भ पनि गर्नुभयो तर विभिन्न विवादका कारण पुनर्निर्माणले गति लिन सकेन ।

२०७५ साल महाशिवरात्रीबाट बल्ल निर्माण सुरु भयो । र रानी पोखरी यो स्वरुपमा आयो । यसको अब उद्घाटनको तयारी भइरहेको छ । यो सम्पदा मल्लकालीन शैलीमै पुनर्निर्माण गरिएको छ ।

रानीपोखरीमा आकारको पानी, सुन्दरीजलबाट ल्याइएको पानी र अन्य ठाउँको पानी हालिएको छ ।

विभिन्न तीर्थस्थलबाट ल्याइएको जललाई पनि उद्घाटन कार्यक्रममा यहाँ मिसाइनेछ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार औपचारिक रुपमा उद्घाटन भएपछि रानीपोखरी सर्वसाधारणका लागि खुला गरिनेछ । तर बालगोपालेश्वरको मन्दिर भने भाइटीकाको दिन मंसिरमा मात्र खुला हुनेछ ।

उद्घाटनको पूर्वसन्ध्यामा नवनियुक्त शहरीविकास मन्त्री कृष्णगोपाल श्रेष्ठ रानीपोखरीको अवलोकनमा पुग्नुभएको थियो । र अवलोकनपछि मन्त्री श्रेष्ठले रानीपोखरी जस्तै अन्य सम्पदा पुननिर्माणको काम पनि यही सरकारै पालामा भइसक्ने दाबी गर्नुभयो ।

बुधवार दिउँसो १२ बजेर ५ मिनटमा रानीपोखरीको राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्नुहुनेछ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरुको पनि सहभागिता रहनेछ । प्राधिकरणले रानीपोखरी र यहाँका संरचनाको पुनर्निर्माणका लागि झण्डै २६ करोड खर्च भएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *