Main News

तस्करी रोक्न खोज्दा कैलालीमा प्रहरीको हत्या, सात जना सार्वजनिक (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ४ गते २०:३१
तस्करी रोक्न खोज्दा कैलालीमा प्रहरीको हत्या, सात जना सार्वजनिक (भिडियोसहित)

४ कात्तिक, २०७७ कैलाली । दाल तस्करी रोक्न खोज्दा कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका दुई प्रहरीको हत्या भएको खुलेको छ । जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदले तस्करीमा अवरोध गरेकै कारण हत्या गरेको पक्राउ परेका ७ जनाले स्वीकार गरेका छन् । पक्राउ परेका १३ मध्ये ६ जनाको संलग्नता नदेखिएको र ७ जनाले अभियोग स्वीकारेको प्रहरीले जनाएको छ ।

गोरुगाडामा दाल भारत लैजाने खोज्ने तस्करलाई रोक्न खोज्दा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडा प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द विक र जवान राम बहादुर साउदको हत्या भएको खुलेको छ ।

तस्करी रोक्न खोजेपछि हत्या गरेर मोहना नदीमा फालेको अभियुक्तहरुले स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरी हत्यामा संग्लन भन्दै सात जनालाई सार्वजनिक गरेको छ । अधिकांशलाई पक्रेको र फरार केहीको खोजी भैरहेको पनि जनाएको छ ।

तस्करको काममा अवरोध गरेपछि योजनाबद्ध ढंगले नै हत्या भएको खुलेको छ । किनकी तस्करको प्रयासमा प्रहरीले अवरोध गरेको यो पहिलो पटक थिएन । शनिबार बेलुका करिब ८ बजेतिर मोटरसाइकलमा गस्तीमा निस्किएका असई विक र जवान साउद बेला तस्कर समूहको ट्रयापमा पर्नुभयो । र, नियन्त्रणमा लिएर घरेलु हतियार लाठी र कोदालोले हानेर तस्कर समूहले ज्यान लियो । हत्यामा ठुलो समुहको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ । त्यसैले प्रहरी उनीहरुको खोजीमा छ ।

आफन्तले मृतकलाई शहीद घोषणा गर्न माग गरेका छन् । मृतक प्रहरीका परिवारलाई राहतका साथै छोराछोरीलाई सरकारले पढाई दिनुपर्ने उनीहरुको माग छ ।

भारतसँग जोडिएको जुगेडा क्षेत्रमा विगतदेखि नै चोरी–तस्करी हुँदै आएको थियो । यसअघि पनि सशस्त्र प्रहरी जवान त्यो क्षेत्रमा मृत भेटिएका थिए । सुरक्षामा खटिएका प्रहरी यसरी तस्करबाटै मारिँदा शान्ति सुरक्षामा समेत चुनौती थपिएको छ ।

माथिल्लो निकायका सुरक्षाकर्मी र प्रशासनका कर्मचारीनै तस्करसंग मिलेर रकम असुल्ने परिपार्टीका कारण पनि यस्तो भएको हुन सक्ने आशंका समेत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *