कैलालीमा तस्करी रोक्न खोज्दा दुई प्रहरीको हत्या भएको खुलासा, सात जना पक्राउ

हिमालय टिभी
२०७७ कार्तिक ४ गते १७:०४
कैलालीमा तस्करी रोक्न खोज्दा दुई प्रहरीको हत्या भएको खुलासा, सात जना पक्राउ

४ कात्तिक, २०७७ कैलाली । तरकारी तस्करी रोक्न खोज्दा कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका दुई प्रहरीको हत्या भएको खुलेको छ ।

जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदले तस्करीमा अवरोध गरेकै कारण हत्या गरेको पक्राउ परेका ७ जनाले स्वीकार गरेका छन् ।

पक्राउ परेका १३ जनामध्ये ६ जनाको संलग्नता नदेखिएको र ७ जनाले अभियोग स्वीकारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहले जानकारी दिनुभयो ।

शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि गएका बेला असई विक र जवान साउद तस्कर समूहको निशानामा पर्नु भएको थियो ।

विकको आइतबार र साउदको आज बिहान मोहना नदीमा शव भेटिएको थियो । विकको शव भेटिएको स्थानबाट ३ सय मिटर उत्तर–पूर्वतर्फ साउदको शव भेटिएको हो ।

करिब आधा फिट बालुवामा गाडिएको अवस्थामा साउदको शव भेटिएको एसएसपी सिंहले जानकारी दिनुभयो। जवान साउदको टाउकोमा लाठी र गर्धनमा फरुवाको जस्तो चोट देखिएको छ । असई विकको हराएको पेस्तोल र मोबाइल पनि नजिकै भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले घटनामा संलग्नता पुष्टि भएको भन्दै धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय राम गोपाल रानालाई सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *