Main News

सरकारको गैरजिम्मेवार व्यवहारले आन्दोलन निम्त्याउँदै (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ३ गते २०:३०
सरकारको गैरजिम्मेवार व्यवहारले आन्दोलन निम्त्याउँदै (भिडियोसहित)

३ कात्तिक, २०७७ काठमाडौं । सरकारका एकपछि अर्को गैरजिम्मेवार व्यवहारले नागरिकमा आक्रोश बढ्दो छ । र नागरिकको यो आक्रोशले ठूलो आन्दोलनको रूप लिन खोजेको जस्तो पनि देखिन्छ ।

अर्थात नागरिक आन्दोलनको मनस्थिति विकसित हुँदै जान थालेको छ । त्यसैले नागरिकमा बढ्दो आक्रोश मत्थर पार्ने गरी सरकारले काम नगरे ठूलो धक्का व्यहोर्नुपर्ने विज्ञले चेतावनी दिएका छन् ।

ओखलढुंगाका तोयानाथ दाहाल त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । सरकारका काम र गतिविधिबाट अरु नागरिक पनि आजित छन । जसको उदाहरण सामाजिक सञ्जालमा सुरु भएको कर फिर्ताको ट्रेण्ड हो ।

नागरिक दुःख पीडामा रहेका बेला अभिभावकीय भूमिकामा रहेको सरकार उनीहरुलाई वेवास्ता गरिरहेको छ । खान नपाएर ठाउँ ठाउँमा नागरिकले सडकमा थाल थापिरहँदा तिनैको उपचारबाट पछि हट्ने सरकारको कदम त्यसैको पछिल्लो कडी हो ।

सरकारको यो व्यवहारले आजित नागरिक अनेकन माध्यमबाट सरकारविरुद्ध आक्रोश व्यक्त गरिरहेका छन । जसले ठूलो रुप लिन सक्ने विज्ञको आंकलन छ ।

यतिमात्र होइन । आक्रोश राजनीतिक नेतृत्वप्रति पनि छ । नागरिकका समस्या समाधान गर्नुको साटो सरकार आफैले गरेका प्रतिबद्धता भुलिरहेको छ र अलमलिएको छ । अर्थात सरकारकै व्यवहारका कारण नागरिक विकल्प खोज्ने मुडमा पनि पुग्न सक्छन ।

सरकारका पछिल्ला काम कारवाहीले ढिलो चाँडो हानी हुने सरकारलाई नै हो र सही ढंगले समाधान हुन नसके त्यसको मार देशले पनि भोग्नुपर्ने हुन सक्छ । त्यसैले जति सक्दो जनमुखी काम गरेर बढ्दो आक्रोश मत्थर पार्न सरकारलाई विज्ञको सुझाव छ ।

कोरोना भाइरस संक्रमणको त्रासले ७ महिनादेखि नागरिकको दैनिकी प्रभावित छ । खान र उपचार गर्न नपाएर ज्यान गुमाइरहेका छन् । तर अभिभावक हुँ भन्ने सरकार नागरिकका लागि केही गर्न सक्दिन भनेर हात उठाईरहेको छ । यसले नागरिकमा विद्रोही मानसिकता विकास हुँदै गएको छ । त्यसैले यी स्वरलाई बेलैमा मत्थर पार्ने गरी सरकारले काम गर्नु जरुरी छ । अन्यथा उसलाई नागरिकले आफैं सच्याउनेछन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *