Political Hightlights

सरकारले सांसदलाई दिएको दशैंभत्ता फिर्ता गर्न कांग्रेसको निर्देशन

हिमालय टिभी
२०७७ कार्तिक ३ गते १२:४५
सरकारले सांसदलाई दिएको दशैंभत्ता फिर्ता गर्न कांग्रेसको निर्देशन

३ कात्तिक, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सबै सांसदको दशैं भत्ता फिर्ता गर्ने तयारी गरेको छ ।

सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले भत्ता फिर्ता गर्न निर्देशन दिएसँगै तयारी थालिएको प्रमुख सचेतक बालकृष्ण खांणले जानकारी दिनुभयो । संसदीय दलका तर्फबाट संसद सचिवालयले जानकारी गराउने खांणले जानकारी दिनुभयो ।

प्रतिनिधिसभामा कांग्रेसका ६३ र राष्ट्रिय सभामा ६ जना सांसद छन्। जनस्तर र संचार माध्यमबाट चर्को आलोचना भएपछि सांसदहरुले हिजो देखि दशैं भत्ता फिर्ता गरिरहेका छन । संघीय सांसदहरूले ६४ हजार ७० रूपैयाँ दशैं भत्ता पाएका थिए ।

यसैबीच नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले बैंक खातामा दशैंभत्ता पठाइदिएर सरकारले सांसदहरुलाई जनताको नजरमा बदनाम गर्ने दुराशय राखेको आरोप लगाउनुभएको छ ।

आज विज्ञप्ती जारी गर्दै नेता सिंहले जनतालाई पीसीआर परीक्षणसमेत आफ्नै खर्चमा गर भन्ने र संघीय सांसदहरुलाई दशैंभत्ता दिने सरकारी निर्णय निन्दनीय भएको बताउनुभएको छ ।

सरकारको यो निर्णयका विरुद्ध आफूहरु उभिने पनि बताउनुभएको छ । पूर्वउपप्रधानमन्त्री सिंहले भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दशैं भत्ताका नाममा बद्नाम गर्ने दुराशय राखेको बताउनुभएको छ ।

नेता सिंहले महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिने बताउनुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य नेता सिंहले दशैंभत्ता भन्दै आफ्नो नाममा आएको रकम फिर्ता गर्ने पनि बताउनुभएको छ ।

नेता सिंहले नेपाली कांग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दशैंभत्ता फिर्ताको निर्णय गरेर सांसदहरुलाई बदनाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन पनि पार्टीलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्