राजनीति

नेकपा विवाद: ओली र दाहालबीच बढ्दो दूरीले विवाद तत्काल समाधान नहुने सम्भावना (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २ गते २०:२०
नेकपा विवाद: ओली र दाहालबीच बढ्दो दूरीले विवाद तत्काल समाधान नहुने सम्भावना (भिडियोसहित)

२ कात्तिक, २०७७ काठमाडौं । कर्णाली प्रदेशको विवाद र संघीय मन्त्रिपरिषद् पुनर्गठनले सत्तारुढ नेकपाभित्र फेरि विवाद बल्झिएको छ । भदौ अन्तिम साता स्थायी कमिटी बैठकबाट विवाद समाधान गरेको भनिएको नेकपा फेरि त्यो भन्दा अघिको अवस्थामा पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच असोज २७ गते यता आज पहिलो पटक भेटवार्ता भएपनि सहमति हुन सकेन । र, विवाद फेरि नयाँ ढंगले अघि बढ्ने देखिएको छ ।

असार दोस्रो साता सत्तारुढ नेकपा फूटको संघारमा पुग्यो । तर दुई महिनाको रस्साकस्सी र प्रयासपछि फूट रोकियो । ६ सदस्यीय कार्यदलको सिफारिसका आधारमा भदौ २६ गते स्थायी कमिटीले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र पुष्कमल दाहाल प्रचण्ड पार्टीमा केन्द्रीत हुने गरी जिम्मेवारी बाँडफाँड गर्यो ।

सरकार र पार्टी सल्लाहमा चल्ने, संघदेखि प्रदेशसम्म मन्त्रिपरिषद पुनर्गठन गर्ने सहमति पनि भयो । त्यसका लागि प्रधानमन्त्री ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डबीच पटक पटक वार्ता भयो । तर सहमति हुन सकेन ।

यहीबीचमा कर्णाली प्रदेशमा ओली पक्षीय नेता यामलाल कंडेलको अगुवाईमा प्रचण्ड पक्षीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भयो भने संघमा प्रधानमन्त्री ओलीले आफू निकट नेता राखेर मन्त्रिपरिषद हेरफेर गर्नुभयो । यसमा प्रचण्डले ओलीसँग गम्भीर असहमति राख्नुभएको छ भने प्रचण्ड पक्षका नेता पनि यो कदमका विरुद्ध उभिएका छन ।

पार्टीको सचिवालय र स्थायी कमिटी बैठकबाट दुई पटक कार्यकारी भूमिका प्रयोग नभएकोमा प्रचण्ड पक्ष प्रधानमन्त्रीसँग आक्रोशित छ । पार्टी र सरकार दुवैमा हस्तक्षेप गरेर राम्रोसँग चलाउन नसकेको उसको आरोप छ ।

प्रचण्ड पक्ष जस्तै यसमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह पनि ओलीसँग सन्तुष्ट छैन । कर्णालीमा गर्न नहुने काम नगरेको, संघमा पनि आफूखुशी गरेको र स्थायी कमिटी बैठकका निर्णय अनुसार प्रधानमन्त्री नचलेको नेपाल पक्षको बुझाई छ । स्थायी कमिटीको निर्णय अनुसार प्रदेश र संघको मन्त्रिपरिषद् पुनर्गठन हुनुपर्ने नेपाल पक्षको मत छ ।

प्रचण्ड र नेपाल पक्षले प्रधानमन्त्रीका काम र पार्टी पद्धतिको कुुरा उठाइरहँदा ओली पक्ष भने त्यो मान्न तयार छैन । अर्थात ओली पक्षको दावी छ– जे भैरहेको छ, सबै सल्लाहमै भैरहेको छ ।

प्रचण्ड–नेपाल र ओली पहिले जस्तो सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा नउत्रे पनि नेकपा भित्रको विवाद फेरि भदौ २६ भन्दा अगाडीको अवस्थामा पुगेको छ । र, यो नेकपाभित्र वास्तविक ढंगले विवाद समाधान नभएकैले भैरहेको विश्लेषकको टिप्पणी छ । पहिले टालटुल गरिएको विषय अब झन खराब ढंगले अघि बढ्ने विश्लेषक कृष्ण पोखरेलको बुझाई छ ।

भदौको अन्तिम साता फुटको डिलबाट फर्किएको नेकपाको विवाद अब कसरी अघि बढ्ला र के होला ? संभवत यो जान्न धेरै दिन कुर्नुपर्ने छैन । किनकी नेकपा अहिले आँधी आउनु अघिको अवस्थामा देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्