Main News

कैलालीमा असई हत्या प्रकरणमा ११ जना शंकास्पद पक्राउ

हिमालय टिभी
२०७७ कार्तिक २ गते १५:१०
कैलालीमा असई हत्या प्रकरणमा ११ जना शंकास्पद पक्राउ

२ कात्तिक, २०७७, कैलाली । कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा ११ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा त्यस क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्य छन् । अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन ।

जुगेडा चौकीबाट मोटरसाइकलमा सीमा क्षेत्रमा गस्ती गएका चौकीका इञ्चार्ज असई गोविन्द विकको शव मोहना नदीमा फेला परेको थियो। विकसँगै बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका प्रहरी रामबहादुर साउद अझै भेटिनु भएको छैन ।

चौकीबाट गएराति साढे ८ बजे गस्तीमा निस्किएका दुबैजना साढे १० बजेदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । आज बिहान खोजी गर्दा चौकीबाट एक किलोमिटरको दूरीमा उनीहरू चढेको मोटरसाइकल र करिब तीन किलोमिटर टाढा मोहना नदीमा शव फेला परेको थियो।

प्रहरी कार्यालय कैलालीले तस्करसँगको भीडन्तमा उनीहरू मारिएको हुन सक्ने आशंका गरेको छ। नदीमा खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालित भएको छ । नेपाल प्रहरीको टोली पनि खोजीमा खटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *