Main News

बलात्कारीलाई फाँसीको माग गर्दै युवती सडकमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १ गते २१:०१
बलात्कारीलाई फाँसीको माग गर्दै युवती सडकमा (भिडियोसहित)

१ कात्तिक, २०७७ काठमाडौं । बाँकेमा बलात्कारका घटनाका दोषीमाथि कडा कारबाहीको माग गर्दै किशोर र किशोरी सडक आन्दोलनमा उत्रिएका छन ।

बलात्कारका घटनामा संलग्न ब्यक्तिलाई कारबाही नहुँदा दिनहुँ बलात्कारको घटना बढेको भन्दै किशोर र किशोरीले सडकमै उत्रिएर बलात्कारीलाई फाँसीको माग गर्दै आएका छन् ।

नेपालमा दैनिक करिव ७ वटा बलात्कारका घटना प्रहरीमा दर्ता हुने गरेका छन् । प्रहरीमा दर्ता भएका बलात्कारका घटनामा पीडित हुने मध्ये धेरैजसो १६ बर्षभन्दा कम उमेरका किशोरी छन् ।

सडकमा हिंड्दा असुरक्षित महसुस हुन थालेपछि बाल तथा युवा क्लबमा संगठित भएका किशोरकिशोरी बलात्कारको भयावह अवस्थाका बारेमा राज्यका निकायको ध्यानाकर्षण गराउने उद्देश्यले सडक प्रदर्शन गरिरहेका छन् ।

दिनहुँ जसो संचारमाध्यममा बालिका बलात्कार भएको सार्वजनिक हुन थालेपछि बलात्कारविरुद्धको अभियान नै सञ्चालन गर्नुपर्ने निष्कर्षमा किशोर किशोरी पुगेका छन् ।

बलात्कारको घटनालाई गाउँ मै मिलाउने प्रयास भएपछि पीडित किशोरी आत्महत्या गर्न विवश भएका छन् ।

प्रहरी–समुदाय साझेदारी कार्यक्रममार्फत नेपाल प्रहरीले बलात्कारजस्ता जघन्य अपराध न्यूनीकरण गर्ने प्रयास गरिरहेको छ । पछिल्ला दिनहरुमा बलात्कार लगायत यौन हिंसामा परेकाहरु नेपाल प्रहरीको महिला सेलमा उजुरी लिएर आउन थालेका छन् ।

बलात्कारका घटनालाई प्रहरीले गम्भिरतापूर्वक लिएर अनुसन्धान गर्ने र आरोपित ब्यक्तिमाथि मुद्दा दर्ता गरेर कानुनी कारबाहीको प्रकृया अगाडि बढाउने गरेको छ ।

बलात्कारजन्य हिंसाको कहरमा गरिब, सीमान्तकृत, दलित र बालिका बढी परेका छन् । बाँकेमा लकडाउन सुरु भएदेखि चैत ११ देखि भदौ मसान्तसम्म जबरजस्ती करणीका २१ र जबरजस्ती करणी उद्योगका ६ वटा मुद्दा दर्ता भएका छन ।

गत बर्ष बाँकेमा जबरजस्ती करणीका ४८ र जबरजस्ती करणी उद्योगका १० वटा मुद्दा दर्ता भएका छन् । बलात्कारको बर्बर शृंखलाको लामो फेहरिस्तले नेपाली समाजमा मानवीय मूल्य र मान्यतासँगै नैतिकतामा पनि ह्रास बढ्दै गएको देखिएकोछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *