खेलकूद

बेंग्लोरलाई ८ विकेटले हराउँदै आइपीएलमा पञ्जाबको दोस्रो जित

हिमालय टिभी
२०७७ असोज ३० गते ७:२८
बेंग्लोरलाई ८ विकेटले हराउँदै आइपीएलमा पञ्जाबको दोस्रो जित

३० असोज, २०७७ काठमाडौं । किङ्स इलाभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ ।

युएईमा जारी १३ औं संस्करणको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले दोस्रो जित निकालेको हो । बेंग्लोरले दिएको १ सय ७२ रनको लक्ष्य पन्जाबले २० ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

पन्जाबको जितमा कप्तान केएल राहुल र क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले । राहुलले ४९ बलमा अविजित रहदै ६१ रन बनाए । गेलले ४५ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस सिजन पहिलो पटक पन्जाबको प्लेइङ सेटमा परेका गेलले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन् । यस्तै मायांक अग्रवालले ४५ रनको योगदान दिए । निकोलस पुरन ६ रनमा अविजित रहे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

बेंग्लोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४८ रन जोडे । यस्तै शिवम डुबेले २३ रन जोड्दा आरोन फिन्चले २० रन बनाए । जितसँगै पन्जाबले ८ खेलमा ४ अंक जोडेको छ ।

पन्जाब अंक तालिकाको पुछारमा रहेको छ । पन्जाबले यस सिजनमा लगातार दोस्रो खेलमा बेंग्लोरलाई हराएको हो ।

यसअघिको पहिलो भेटमा पनि पन्जाबले बेंग्लोरलाई ९७ रनले हराएको थियो । बेंग्लोरको यो तेस्रो हार हो । ८ खेलमा १० अंक जोडेको बेंग्लोर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्