Main News

नयाँ मन्त्री भन्छन– काम गरेर देखाउँछौं (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २९ गते २०:४९
नयाँ मन्त्री भन्छन– काम गरेर देखाउँछौं (भिडियोसहित)

२९ असोज, २०७७ काठमाडौं । केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको अढाइ महिनापछि बुधवार तीन नयाँ मन्त्रीको इन्ट्री भएको छ । बुधबार नियुक्त अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लिलानाथ श्रेष्ठले आज शपथ लिएर पदभार सम्हाल्नुभयो ।

सरकारको नेतृत्व गरिरहेको नेकपाभित्रको आन्तरिक राजनीति निकै पेचिलो बनेको अवस्थामा मन्त्री बनेका उनीहरुले पदभार ग्रहण गरेकै बखत जनतासामू आश्वासन बाँडेका छन् ।

बालुवाटार जग्गा प्रकरणकै कारण निकै आलोचित विष्णु पौडेलले बिहीबार दिउँसो पदभारका लागि अर्थमन्त्रालय पुग्नुभयो । निकै शक्तिशाली मन्त्रालय पाएका मन्त्रीको इन्ट्रिमा मन्त्रालयका कर्मचारी र सञ्चारकर्मीको उपस्थिति नहुने कुरा थिएन । तर मन्त्रालय प्रवेश गरेका पौडेलको इन्ट्रीमै सञ्चारकर्मीलाई भने बाहिरै राखियो ।

अर्थात पदभार खिच्न मन्त्रालयभित्र सञ्चारकर्मीले प्रवेश पाएनन् । तर पदभारपछि मन्त्री पौडेलले थलिएको अर्थतन्त्र उकास्ने दाबी गर्न भने भ्याउनुभयो । यतिमात्र होइन उहाँले अर्थ मन्त्रालयभित्र डुब्ने र अर्थतन्त्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिदृश्यबाट सिर्जित चुनौतीलाई पार लगाउने दाबी पनि गर्नुभयो ।

नवनियुक्त अर्थमन्त्री पौडेलले पदबहाली गरेलगत्तै कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि विश्व बैंकबाट २० करोड डलर सहुलियत ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

पौडेलजस्तै बिहीबाररै पदभार सम्हालेका अर्का मन्त्री हुनुहुन्छ लीलानाथ श्रेष्ठ । आफू पुरुष भएर महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व गर्न आएको भनेर आलोचना हुन्छ भनेरै होला उहाँले सुरुमै आधा आकाश ढाकेका महिलाको हितमा काम गर्ने उद्घोष गर्नुभयो ।

यतिमात्र होइन घुमाउरो भाषामा मन्त्रालयको बजेट निकै कम भन्दै उहाँले विभिन्न संघ संस्थासँगको सहकार्यमा योजना बनाएर बजेट बढाउने काम गर्ने योजना सुनाउनुभयो । र, वृत्त भत्ता बढाउने आश्वासन पनि दिनुभयो ।

ओली सरकारको १२ औं पटकको मन्त्रीपरिषद् पुनर्गठनमा इन्ट्री मारेका अर्का भाग्यमानी मन्त्री हुनुहुन्छ कृष्ण गोपाल श्रेष्ठ । शहरीविकास मन्त्रीको रुपमा ओली क्याबिनेटमा छिरेका श्रेष्ठ प्रधानमन्त्री ओलीका विश्वास पात्र हुनुहुन्छ । त्यसैले पदभार ग्रहण गर्दै गर्दा पनि गफ गरेर र मात्तिएर होइन, नआत्ति परिणाम निकाल्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विहीवार नयाँ मन्त्रीले मात्र होइन मन्त्रालय फेरिएर गएका सञ्चारमन्त्री पार्वत गुरुङ्ले पनि पदभार ग्रहण गर्नुभयो । र पदभार ग्रहण गर्दै गुरुङ्ले अब आफ्नो मन्त्रालयले अन्य मन्त्रालयका गतिविधिको निगरानी गर्ने र सूचना सम्प्रेषणमा पनि एकद्वार नीति अवलम्बन गर्ने उद्घोष गर्नुभयो ।

नवनियुक्त मन्त्रीहरुले आफ्नो कार्यकालको पहिलो दिन जे जस्ता प्रतिबद्धता गरेका छन् तिनको कार्यान्यवय के कसरी हुन्छ त्यो त पछि नै थाहा होला । तर सरकार स्थीर भनिएको सरकारमा पटक पटक मन्त्री फेरिनुले थपिएका नयाँ मन्त्री कति स्थिर हुन सक्छन् भन्ने ठूलो प्रश्न छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *