Main News

सरकारको गलत नीतिका कारण कोरोनाको भयावह स्थिति आयो- विज्ञ (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २९ गते २०:०३
सरकारको गलत नीतिका कारण कोरोनाको भयावह स्थिति आयो- विज्ञ (भिडियोसहित)

२९ असोज, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रणबाहिर गएको भन्दै नागरिकलाई सचेत हुन आग्रह गर्दै आएको छ । विज्ञले सरकारकै कारण यो स्थिति आएको बताएका छन् । सरकारले कोरोना नियन्त्रणका लागि लिएको नीति नै गलत भएका कारण कोरोना संक्रमणको भयावह स्थिति आएको बताएका छन् ।

कोरोनाका कारण नेपालमा पहिलो पटक जेठ २ गते सिन्धुपाल्चोकी एक सुत्केरी महिलाको मृत्यु भयो । ती महिलाको मृत्यु भएसँगै विज्ञहरुले सरकारलाई भयावह रुप लिन सक्छ भनेर सावधानी अपनाउन सुझाव दिए । तर सरकारले त्यो सुझावलाई गम्भीर रुपमा लिएन । कोरोना भयावह हुन सक्ने थाहा हुँदाहुँदै सरकार गम्भीर नबनेका कारण अहिलेको स्थिति आएको हो भन्नुहुन्छ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डाक्टर बाबुराम मरासिनी ।

नेपालमा कोरोनाको पहिलो केस माघ ९ गते भेटिएको थियो । जतिखेर पहिलो केस पत्ता लाग्यो त्यतिबेला संक्रमित निको भइसकेका थिए । दोश्रो केस देखिएसँगै सरकारले चैतमा लकडाउन ग¥यो । त्यो लकडाउनमा आवश्यक स्वास्थ्य सामग्री खरीद, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको व्यवस्थापन लगायतका काम गर्नु पर्थ्यो । तर सरकारले विवादास्पद रुपमा स्वास्थ्य सामग्री खरीद गर्ने बाहेक अरु खासै काम गरेन ।

त्यो लकडाउनका बेलामा सरकार व्यवस्थापनमा अलमलियो । कोरोना भाइरसले पार्ने प्रभाव, पछि आउने सक्ने समस्याको आँकलन भए पनि व्यवस्थापन भने गर्न सकेन । सरकारले अस्पतालको व्यवस्थापन राम्रोसँग गर्न नसक्नु, स्वास्थ्य सामग्रीको उपलब्धता नहुनु, प्रयोगशालाबाट परीक्षण विश्वासनीय नहुनु, क्वारन्टिनको व्यवस्थापन राम्रोसँग नहुनु ,अग्रंपक्तिमा काम गर्नेको सुरक्षामा ध्यान नदिनुले संक्रमण फैलँदै गयो ।

संक्रमण फैलिइसकेपछि पनि सरकार विश्वसनीय नमानिएको आरडीटी परीक्षणमा केन्द्रित भयो । लकडाउनमा नागरिकलाई घरभित्र थुनेको सरकार पनि सिंहदरबार र बालुवाटारबाट बाहिर निस्केन । परिणाम लकडाउनमा प्रभावकारी तयारी भएन । त्यसले गर्दा संक्रमण दर बढ्दै गयो । तर अहिले पनि सरकारले कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सकेको छैन ।

सरकार अहिले पनि आइसोलेसन निर्माण, अस्पतालको व्यवस्थापनमा चुकेको छ । अहिले पनि सबै ठाउँमा स्वास्थ्य सामग्रीको पहुँच छैन । सबै पीसीआरको पहुँचमा छैनन् । महिनौंसम्म कोरोना संक्रमण नियन्त्रणका लागि काम गरिरहे पनि सरकार असफल देखिएको छ । त्यसैले अब कोरोना नियन्त्रणको रणनीति परिवर्तन गर्न आवश्यक छ ।

सरकारले अस्पतालको व्यवस्थापन, आइसीयू, भेन्टिलेटर, ट्रेसिङलगायतका कामलाई व्यवस्थित र प्रभावकारी नबनाउँदा, नागरिकले कोरोना नियन्त्रणमा सरकारले खेलेको भूमिकामाथि नै प्रश्न उठाएका छन् । अब सरकारले कोरोना संक्रमण नियन्त्रणमा ल्याउन, स्वास्थ्य सम्बन्धी विभागलाई विशेष अधिकार दिनुपर्ने र विगतका गल्ती सच्याएर अघि बढ्नुपर्नेमा विज्ञको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *