आर्थिक

ठूला व्यवसायिक घराना मात्र हैन् सरकारी संस्थानसमेत एकपछि अर्को कालाेबजारीका घटनामा मुछिँदै (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २९ गते १७:४१
ठूला व्यवसायिक घराना मात्र हैन् सरकारी संस्थानसमेत एकपछि अर्को कालाेबजारीका घटनामा मुछिँदै (भिडियोसहित)

२९ असोज, २०७७, काठमाडौं । कोरोना महामारीका कारण अर्थतन्त्र जर्जर छ । लाखौँले रोजगारी गुमाएका मात्र छैनन्, धेरैलाई दुई छाक खानसमेत मुस्किल छ । सामान्य नागरिक हुन् वा व्यवसायी दुबैको ध्यान अहिले कसरी हुन्छ गुजारा चलाऔँ भन्नेमा छ । तर मानवीय संकटको यस्तो घडीमा नाम र दाम दुबै कमाएका र पुस्तौदेखिको व्यापारिक विरासत बोकेर आएका ठूला व्यवसायिक घराना मात्र हैन् सरकारी संस्थानसमेत एकपछि अर्को कालोबजारीका घटनामा मुँछिदै गएका छन् ।

घटना १
कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गर्यो । त्यावश्यकबाहेकका सबै क्षेत्र बन्द भएको त्यो बेला नागरिक समेत घरभित्रै थुनिएर बसेका थिए । तर यही बेला प्रतिष्ठित शंकर ग्रुप र जगदम्बा स्टील्सका मालिक शुलभ अग्रवाल ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा प्रकाउ परे ।

घटना २
उपभोक्ताको गुनासो बढेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले गत भदौमा जगदम्बा स्टिलद्वारा उत्पादित फलामका डण्डीको गुणस्तर जाँच्यो । तर निर्धारित गुणस्तको मापदण्डभन्दा निकै कमसल पाइएपछि विभागले बिक्रीवितरणमै रोक लगायो ।

घटना ३
गत असोज १६ गते वाणिज्य विभागको अनुगमन टोलीले काठमाडौंको नयाँ बानेश्वरबाट ठूलो परिमाणमा म्याद सकिएका तर पुनः नयाँ म्याद राखेर बजारमा पठाउन लागिएका चकलेट, बिस्कुट र आलु चिप्स फेला पार्यो । म्याद नाघेका यी बस्तु विशाल ग्रुपले आयात गर्ने गरेको र आयन इन्टरनेशनलले वितरण गर्ने गरेको खुल्यो ।

घटना ४
मंगलबार काठमाडौं महानगरपालिकाबाट गएको अनुगमनमा टोलीले सरकारकै स्वामित्वको दुग्ध विकास संस्थानमा १६ करोड रुपैयाँ मूल्य बराबरका म्याद नाघेको नौनी घ्यू बरामद गर्यो । बजार पठाउन ठिक्क पारिएका यी सामग्री बरामदको यो घटनाले सरकारी संस्थान पनि कालोबजारीमा अक्षुतो छैन भन्ने देखाउँछ ।

यी त केही प्रतिनिधि घटना मात्र हुन्, पछिल्लो समय प्रतिष्ठित व्यापारिक घराना र सरकारी संस्थान नै एकपछि अर्को कालोबजारीका घटनामा संलग्न रहेको सार्वजनिक हुनेक्रम बढ्दो छ । कोरोना महामारीले गर्दा मानवीय र आर्थिक संकट परिरहेकै बेला उत्तरदायित्व बोकेकै व्यावसायिक घराना र संस्थान कालोबजारीका घटनमा मुछिँदै गएका हुन् । यसका पछि सरकारमा बस्नेलाई प्रभावमा पारेपछि जे गर्दा पनि छुट पाइन्छ भन्ने मनोविज्ञानले काम गरेको उपभोक्ता अधिकारकर्मीको बुझाई छ ।

बजारमा ठूला भनिएका व्यापारिक घरानाका संस्थान नै संलग्न रहेका कालोबजारीका घटनाबाहिर एकपछि अर्को गरी बाहिर आउँदा यसले बजारमा हदैसम्मको अराजकता छ भन्ने पुष्टि गर्छ । तर संविधानले बजार अनुगमनको जिम्मा सुम्पिएका तीन वटै तहका सरकारले प्रभावकारी अनुगमन गर्न सकेका छैनन । यसको फाइदा कालोबजारी गर्नेले उठाइरहेका छन् । त्यसैले बजारको यो अराजकताबाट ठगिन उपभोक्ता आफैं सचेत हुनुपर्नेमा उपभोक्ता अधिकारकर्मीको जोड छ ।

नाफा कमाउने होडबाजीमा प्रतिष्ठित ठूला घराना र संस्थान नै संलग्न हुनु लज्जाको विषय हो । यसले अन्य व्यवसायीको समेत नाफाका अघि नैतिकता र जनस्वास्थ्य हेर्न नहुने मनोविज्ञानलाई मलजल गर्छ । अझ नाम मात्रको बजार अनुगमनले उनीहरुलाई त्यस्ता काम गर्न सघाउ नै पुर्‍याउँछ जसको मार अन्तिममा उपभोक्ताले नै खेप्नुपर्छ । त्यसैले उपभोक्ता स्वंय बजारमा हुने गरेका कालोबजारी, मूल्यवृद्धिजस्ता विषयमा सचेत हुन र अपराध गर्नेलाई कारवाहीको दायरासम्म पुर्याउन सरकारलाइ निरन्तर खबरदारी गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *