Main News

नवनियुक्त मन्त्रीहरुले गरे पदभार ग्रहण

हिमालय टिभी
२०७७ असोज २९ गते १७:३३
नवनियुक्त मन्त्रीहरुले गरे पदभार ग्रहण

२९ असोज, २०७७ काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लिलानाथ श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ ।

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि सिंहदरबार पुगेर नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदबहाली गरेलगत्तै विश्व बैंकबाट २० करोड डलर सहुलियत ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि विश्व बैंकबाट २० करोड डलर सहुलियत ऋण लिने निर्णयमा नवनियुक्त अर्थमन्त्री पौडेलले हस्ताक्षर गर्नुभएको हो ।

अर्थतन्त्रलाई माथि उठाउने गरी आफूले काम गर्ने मन्त्री पौडेलले दावी गर्नुभयो । पदभार ग्रहण गर्दै शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लिलानाथ श्रेष्ठले वृद्ध भत्ता बढाएर ५ हजार पुर्याउने आश्वासन दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रिपरिषद हेरफेर गर्नुभएको थियो । जसमा तीन जना नयाँ मन्त्री नियुक्त गरिएको थियो भने दुई जनाको जिम्मेवारी हेरफेर गरिएको थियो ।

रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री ओलीले आफू निकट नेतालाई राखेर मन्त्रिपरिषद हेरफेर गरेपछि सत्तारुढ नेकपामा असन्तुष्टि बढेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको असहमतिका बीच प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पूनर्गठन गर्नुभएको छ ।

प्रचण्ड र नेपाल मन्त्रिपरिषद व्यापक हेरफेरको पक्षमा हुनुहुन्थ्यो भने ओलीले खालि तीन वटा मन्त्रालयमा मात्रै नियुक्ति गर्ने अडानमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *