Main News

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेले नेपाल भ्रमण गर्ने

हिमालय टिभी
२०७७ असोज २८ गते १७:१६
भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेले नेपाल भ्रमण गर्ने

२८ असोज, २०७७ काठमाडौं । सीमा विवादपछिको तनाव र कोरोना संकटका कारण रोकिएको भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण तय भएको छ ।

२०७६ साल माघ २० गतेको मन्त्रिपरिषदको निर्णय अनुसार जनरल नरावणे यही कात्तिक महिनामा नेपाल आउने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार मिति नतोकिए पनि कात्तिकको तेस्रो हप्ता उहाँ नेपाल आउनुहुनेछ । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नरावणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी पूर्णचन्द्र थापासँग शिष्टाचार भेट गर्नुहुनेछ ।

नेपाली सेनाका प्रधानसेनापतिलाई पनि भारतीय सेनाको सर्वोच्च कमान्डर अर्थात् भारतका राष्ट्रपतिबाट मानार्थ महारथीको पदवी दिने चलन छ । नेपालमा भारतीय सेनाका तीन प्रमुखमध्ये स्थलसेना प्रमुखलाई नेपालका राष्ट्राध्यक्षले ‘मानार्थ महारथी’को दर्जा दिने प्रचलन छ ।

नेपालले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि सेनापति नरावणेले चीनको उक्साहटमा नक्सा जारी गरेको भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि त्यसको भारतमै पनि आलोचना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *