राजनीति

कर्णाली प्रदेश विवाद : प्रचण्ड र नेपाल एक हुँदा ओलीलाई झड्का, जोगियो मुख्यमन्त्रीको पद (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २७ गते २०:२९
कर्णाली प्रदेश विवाद :  प्रचण्ड र नेपाल एक हुँदा ओलीलाई झड्का, जोगियो मुख्यमन्त्रीको पद (भिडियोसहित)

२७ असोज, २०७७ काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने पार्टी भित्रकै प्रयास असफल भएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच शक्ति बाँडफाँडको सहमति भएपछि शाहीको पद जोगिएको हो । आक्रामक देखिएको ओली पक्ष पनि दुई पक्षबीच सहमति भएपछि यू टर्न भएको छ ।

अब यो विषयमा काठमाडौंमै छलफल हुनेछ । र, त्यसका लागि कर्णाली प्रदेशमा भिडिरहेका दुवै पक्षलाई काठमाडौं बोलाइएको छ । प्रचण्डलाई रक्षात्मक अवस्थामा पुर्‍याउने ओलीको योजना आफैलाई ब्याक फायर भएको छ ।

आइतबार एकाएक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ओली निकट नेता यामलाल कँडेलको नेतृत्वमा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भयो । एकाएक आएको प्रस्ताव संसदीय दलमा छलफल नहुँदै मंगलबार असफल भयो ।

अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको संसदीय दलको बैठकमा नेता नेपाल र माओवादीतर्फका सांसदहरु अनुपस्थित भएपछि मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव आफैं अल्पमतमा पर्‍यो ।नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सहमति भएपछि शाहीको सत्ता संकट टर्यो । प्रदेशमा शक्ति बाँडफाँडको सहमति भएपछि नेपाल पक्षका सात जना प्रदेश सभा सदस्य अविश्वास प्रस्तावबाट पछि हटे ।

नेपाल पक्षले अब कर्णाली प्रदेशमा तीन मन्त्री र संसदीय दलको सचेतक पाएको छ । प्रचण्ड पक्षसँगको सहमतिअनुसार अब नेपाल पक्षका चन्द्रबहादुर शाही, करवीर शाही र अम्मरबहादुर थापालाई मन्त्री बन्नुहुनेछ ।

मुख्यमन्त्री शाहीले सहमति कार्यान्वयन शुरु भएको सन्देश दिने गरी नेपाल निकट कुर्मराज शाहीलाई संसदीय दलको सचेतक बनाउनुभएको छ ।

यसले प्रचण्डसँगको विवादलाई प्रदेश लगेर आफू बलियो हुने प्रधानमन्त्री ओलीको योजनामा झड्का लाग्यो । आफू र वरिष्ठ नेता नेपालबीच अन्तर्विरोध सिर्जना गर्ने ओलीको प्रयास बुझेका प्रचण्डले आफू पक्षीय नेतालाई नेपालपक्षसँग सहमति गर्न लगाउनुभयो ।

सोमबार प्रदेशको विवादमा हात नहाल्ने भनेका ओलीबाट तर्सेका प्रचण्डले एक दिनपछि सहमति गराएर मुख्यमन्त्री शाहीको पद जोगाईदिनुभयो । नेपाल र प्रचण्डबीचको यो सहमतिले ओलीलाई झड्का दियो ।त्यसैले ओली पक्ष झस्किएर टर्न भयो । र, केन्द्रबाट यामलाल कंडेल लगायतका नेतालाई बैठक नगर्न भनियो ।

अन्यथा शाही सरकारमा रहेका मन्त्री समेतले राजीनामा गरेर बैठक गर्ने योजना बनाएर शाहीविरुद्ध बहुमत पुर्‍याउने योजना बनाइएको थियो । प्रधानमन्त्री ओलीका तर्फबाट फोन गरेर संघीय संसदमा नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले राजीनामा नदिन भन्नुभयो । बैठक बस्दा र राजीनामा दिँदा आफै कमजोर हुने आंकलन गरेका प्रधानमन्त्री ओलीको योजनामा यो सबै भयो ।

किनकी अरु प्रदेशमा पनि प्रचण्ड र नेपाल पक्षबीच सहमति भएर अविश्वास प्रस्ताव आयो भने के होला भन्ने भयले ओली पछि तर्सिएको बुझ्न सकिन्छ ।

सोमबारसम्म प्रदेशमा हस्तक्षेप गर्न नहुने भनेका प्रधानमन्त्री ओली कर्णाली प्रदेशका विषयमा छलफल गर्न तयार हुनुभएको छ । त्यसका लागि ओली र प्रचण्डबीच प्रदेशमा झगडा गरिरहेका दुवै पक्षलाई काठमाडौं बोलाइएको छ ।

बिहीबार प्रदेश इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरख बोगटी, सचिव मायाप्रसाद शर्मा, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतको टोलीसँग ओली र प्रचण्डले छलफल गर्नुहुनेछ । काठमाडौंमा फेरि छलफल गर्दा दुवै पक्ष फेरि आक्रामक हुने संभावना पनि छ ।

किनकी कर्णाली प्रदेशमा सरकार शाही मुख्यमन्त्री बन्दा देखिनै यामलाल कंडेल लगायतको सहयोग थिएन भने मुख्यमन्त्री शाहीले पनि अरुलाई साथमा नलिई आफूखुशी अघि बढेको स्थिति थियो । यस्तोमा छलफल गर्दा अब फेरि एक पटक माधवकुमार नेपाल पक्षको भूमिका अहम हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्