Main News

जनतालाई जिम्मेवार बनाउने नै गैरजिम्मेवार बनेपछि‍….(भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २७ गते २०:२०
जनतालाई जिम्मेवार बनाउने नै गैरजिम्मेवार बनेपछि‍….(भिडियोसहित)

२७ असोज, २०७७ काठमाडौं । पछिल्लो समय उच्च पदस्थ व्यक्तिहरुमा पनि कोरोना संक्रमण पुष्टि भइरहेको छ। मुलुकमा कोरोना संक्रमितको संख्या हरेक दिन बढिरहेका बेला उच्च पदस्थहरुमा पनि संक्रमण देखिनु स्वभाविक हो । तर अवस्था त्यस्तो भने छैन ।

नागरिकलाई जिम्मेवार बनाउने भूमिकामा रहेका उनीहरु आफैं गैरजिम्मेवार भएर हिँड्दा संक्रमित मात्र भइरहेका छैनन् संक्रमणको त्रास पनि फैलाइरहेका छन् ।

असोज २१ गते नेपालको ताप्लेजुङको ओलाङचुङगोलामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भयो । जुन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई, प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, गृहसचिव महेश्वर न्यौपाने लगायत उच्च अधिकारीको उपस्थिति थियो । तर कार्यक्रममा सहभागी कोही पनि उच्च व्यक्तिहरुले मास्क प्रयोग गरेको देखिँदैन ।

सुरक्षा निकायका अधिकारीहरुमा तिब्र रुपमा कोरोना फैलिरहेको अवस्थामा ताप्लेजुङमा देखिएको यो लापरवाहीले निकै महत्व राख्छ । बीओपी स्थापनाका लागि गएको यो टोली संखुवासभाको किमाथाङकामा निर्माण हुन लागेको बीओपी भवन शिलान्यासका लागि पनि गयो । यहाँको अवस्था पनि उस्तै थियो ।

सीमा सुरक्षामा सरकारको तदारुकता बढिरहेका बेला बीओपी स्थापनामा मन्त्री भट्टराई लगायत अन्य उच्चपदस्थ व्यक्तिबाट भएको लापरवाही गौण बनिदियो । तर त्यसको ठिक ३ दिनपछि पर्यटनमन्त्री भट्टराईलाई कोरोना पुष्टि भयो । भट्टराईलाई संक्रमण पुष्टि भएसँगै यतिबेला उहाँसँग गएकाहरु आइसोलेसनमा छन् ।

यति मात्र होइन मन्त्री भट्टराईलाई कोरोना संक्रमण पुष्टि हुनु एकदिन अघि नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासँग भेटवार्ता गर्नुभएको थियो । यो छलफलमा पनि भट्टराईले मास्कको प्रयोग नगरेको उहाँकै फेसबुकमा अपलोड गरिएका तस्बिरले देखाउँछ । अर्थात नागरिकले सावधानी अपनाएनन् लापरवाह भए भनेर जेल हाल्ने धम्की दिने सरकारका मन्त्री आफैं सावधानी अपनाएनन् र संक्रमित बने ।

यो त एउटा उदाहरण हो । पछिल्लो समय कोरोना संक्रमण तिब्ररुपमा फैलिँदै गएको बेला राजनीतिक दलहरु पार्टी प्रवेशको कार्यक्रम गर्न मस्त छन् । पार्टी प्रवेश मात्र होइन सरकारले दशैं नमनाउन भनिरहेका बेला उनीहरु भने शुभकामना कार्यक्रम गर्दै हिँडिरहेका छन् । र दलका ती कार्यक्रममा स्वास्थ्य सम्बन्धी कुनै मापदण्ड पालना गरेको पाइँदैन ।

असोज २६ गते पर्सामा भएको जनता समाजवादी पार्टीको कार्यक्रम त्यस्तै अर्को उदाहरण हो । जहाँ जसपाको नेतासमेत रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित सबैजसो शीर्ष नेताको सहभागिता छ । तर कसैले पनि स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेको देखिँदैन । पालना गर्नेले पनि यो भीडमा त्यो संभव छैन । पर्सामा कार्यक्रम सकेर यो टोली अहिले अन्य ठाउँको दौडाहामा छ ।

केही समयअघि कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पनि सभापति देउवा मास्कविहीन देखिनुभयो । बालुवाटारभित्रै बसेको नेकपा स्थायी कमिटी बैठक पनि प्रधानमन्त्री ओली आफैं मास्क नलगाइ बस्नु भएको देखिन्छ । बालुवाटारबाट सार्वजनिक हुने धेरै फोटोमा मान्छेको मुखमा मास्क देखिँदैन तर खुट्टामा प्लाष्टिक कभर देखिन्छन् । जबकी कोरोनाबाट जोगिन जुत्तामा प्लाष्टिक हैन मुखमा मास्क लगाउनुपर्छ । यस्तै लापरबाहीले बालुवाटारमा प्रधानमन्त्रीका स्वकीय सचिव र सल्लाहकारसहित धेरैमा संक्रमण देखियो ।

यी त केही प्रतिनिधि घट्ना मात्र हुन् । जिम्मेवार ठाउँमा रहेका र नागरिकलाई संकटमा अभिभावत्व प्रदान गर्नुपर्नेहरुनै कोरोना भाइरसलाई मजाक सम्झन्दै खुलमखुल्ला केही नभएको जस्तो गरेर हिँडिरहेका छन् । जसले गर्दा हरेक दिन स्वास्थ्य मन्त्रालयले गर्ने पत्रकार सम्मेलनमा बताइने नियम नागरिकका लागि मात्र लागू हुने हो भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *