Main News

काठमाडौंका सबै सरकारी अस्पताल कोभिड अस्पताल, अरु बिरामी कहाँ जाने ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २७ गते २०:१६
काठमाडौंका सबै सरकारी अस्पताल कोभिड अस्पताल, अरु बिरामी कहाँ जाने ? (भिडियोसहित)

२७ असोज, २०७७ काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा घोषणा गर्‍यो । जसअनुसार कोभिड अस्पताल बनेका सबै स्वास्थ्य संस्थाले कोरोना संक्रमितबाहेक अरु बिरामीको उपचार नगर्ने तयारी गरेका छन् । यसले कोरोनाबाहेकका रोग लागेका बिरामीले उपचार नै नपाउने खतरा बढेको छ ।

काठमाडौं उपत्यकामा २१ वटा सरकारी अस्पताल छन् । यसअघि ११ वटा अस्पताललाई कोभिड अस्पताल घोषणा गरिसकेको सरकारले बाँकी अस्पताललाई पनि कोभिड अस्पताल बनाएको छ ।

सरकारले घोषणा गरे पनि काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिडका बिरामीको उपचारका लागि तयार भैसकेका छैनन् । अब ती अस्पताला कोरोना बाहेक अरु बिरामीको उपचार हुने छैन । अहिले भर्ना नै भएर उपचार गरिरहेकालाई सुरक्षित भवनमा सारिनेछ । सबै हिसावले कोरोनाका बिरामीको उपचारका लागि उपत्यकाका सरकारी अस्पताल तयार हुनेछन् ।

सरकारको यो निर्देशनसँगै अब काठमाडौंका २१ वटै अस्पतालमा कोरोना संक्रमितको मात्र उपचार हुनेछ । पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना संक्रमण तिब्र बनेपछि नागरिकको स्वास्थ्य सुरक्षाका लागि नै यस्तो निर्णय गर्नु परेको सरकारले प्रष्ट पारेको छ ।

सहन सक्दासम्म घरमै बस्न र बेहोस हुन लागे वा बेहोस भए मात्र अस्पताल जान नागरिकलाई निर्देशन दिएको सरकारले अत्यावश्यक बाहेक अरु शल्यक्रिया पनि नगर्न अस्पताललाई भनिसकेको छ । यसले नागरिकमा कोरोनाबाहेक अरु रोग लागेमा कसरी उपचार गर्ने भन्ने चिन्ता बढेको छ । तर सामान्य बिरामीलाई अस्पताल नगई अरु नै विकल्पबाट स्वास्थ्य परामर्श गर्न स्वास्थ्य मन्त्रालयको आग्रह छ ।

काठमाडौंमै आईसीयू भेन्टिलेटर नपाएर कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । उपत्यकाका सबैजसो अस्पताल कोरोना संक्रमितले भरिएका छन् । कोरोना संक्रमितले उपचार नै नपाउने स्थिति अन्त्य गर्न काठमाडौंका सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउनु सकारात्मक छ । तर अरु रोग लागेका बिरामीले उपचार नपाउने स्थिति भने आउनु हुँदैन । किककी यसअघि कोरोनाको हटस्पट बनेका विराटनगर र वीरगञ्जमा समयमै उपचार नपाउँदा कोरोना नभएका बिरामीले पनि अकालमा ज्यान गुमाएका थिए । त्यो स्थिति दोहोरिन नदिन सरकार गम्भीर हुनैपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *