प्रभावकारी बन्दै बाँकेमा वैज्ञानिक वन व्यवस्थापन (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २७ गते १४:५१
प्रभावकारी बन्दै बाँकेमा वैज्ञानिक वन व्यवस्थापन (भिडियोसहित)

२७ असोज, २०७७ बाँके । बाँकेमा वैज्ञानिक वन व्यस्थापन प्रभावकारी बन्दै गएको छ । सामुदायिक वन उपभोक्ता समितिलाई सक्रिय बनाएर वैज्ञानिक विधिबाट व्यवस्थापन गर्दा वन क्षेत्रमा हुने चोरी, तस्करी र आगलागी नियन्त्रण भएको छ । वन क्षेत्रमा उम्रिएका नयाँ विरुवा हुर्काउन पनि सहज भएको छ ।

बाँकेमा आर्थिक वर्ष २०७३–०७४ देखि वैज्ञानिक वन व्यवस्थापन शरु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकाका १३ वटा सामुदायिक वन र एउटा राष्ट्रिय वनमा वैज्ञानिक वन व्यवस्थापन गरिएको छ । वैज्ञानिक वनको अवधारण आएदेखि झाडी सफा गर्ने, गोडमेल गर्ने, हाँगाहरु काट्ने, सुख्खा समयमा हुने आगलागीबाट वन जोगाउन अग्नी रेखा कोर्ने, नयाँ उम्रिएका विरुवाको संरक्षण र वनको गुणस्तरमा सुधार गरिएको छ ।

वैज्ञानिक वनबाट बाँकेमा गत वर्ष ४६ हजार ९ सय ६० क्वीफिट काठ उत्पादन भएको थियो । उत्पादन भएको काठ दाउरालाई सहुलियत मूल्यमा पहिलो प्राथमितामा राखेर स्थानीय उपभोक्ताहरुलाई दिइन्छ । त्यसपछि बचेको काठ दाउरा जिल्ला वन पैदावार आपूर्ति समितिलाई दिइन्छ । वैज्ञानिक वन व्यवस्थापन विधिबाट वनलाई व्यवस्थित गरेर सालको रुखको संख्यालाई ७५ प्रतिशत पुराउने लक्ष्य छ । वैज्ञानिक वनले आगामी पुस्तालाई समेत सहज हुने विश्वास छ ।

व्यवस्थित गरिएको वन क्षेत्रमा काठ तथा जडीबुटी लगायतका गैरकाष्ठ वन पैदावारको अभिवृद्धि गरी गरिब, दलित, महिला र पिछडिएका वर्गका लागि वनमा आधारित उद्योगसमेत संचालन गर्ने लक्ष्य छ । ४०–४० हेक्टरका प्लट बनाएर वैज्ञानिक वन व्यवस्थापन विधिबाट वन क्षेत्रलाई व्यवस्थित गरिएको छ । यो कार्यक्रम अझै विस्तार गर्ने वन कार्यालयको तयारी छ ।

बाँकेमा सामुदायिक र सरकारी गरेर ७ हजार ३ सय ४९ हेक्टर वनलाई वैज्ञानिक वन व्यवस्थापन विधिबाट व्यवस्थित गरिएको छ । सालको वन भएको क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको चक्र पुरा हुन करिब ८० वर्ष लाग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *