आर्थिक

व्यवसायीले आफूखुसी बढाएको पानीको मूल्यवृद्धि फिर्ता, पूरानै मूल्य कायम

हिमालय टिभी
२०७७ असोज २७ गते १२:५४
व्यवसायीले आफूखुसी बढाएको पानीको मूल्यवृद्धि फिर्ता, पूरानै मूल्य कायम

२७ असोज, २०७७ काठमाडौं । व्यवसायीले आफूखुशी बढाएको पिउने पानीको मूल्य पुरानै कायम गर्न व्यावसायीहरु सहमत भएका छन् ।

पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरी पुरानै मूल्यमा कारोबार गर्न निर्देशन दिएको हो ।

सोमबार विभागमा पानी व्यवसायीसँग भएको छलफलपछि बढेको मूल्य फिर्ता गरी तत्काल मूल्यवृद्धि नगर्ने सहमति भएको हो । संसदीय समितिमा पानीको मूल्यवृद्धिको विषयमा परेको उजुरीमाथि थप निर्णय नभएसम्म मूल्यवृद्धि नगर्ने सहमित भएको विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार व्यवसायीले बढेको मूल्य तत्काल फिर्ता गरी सार्वजनिक सूचना जारी गर्ने सहमति भएको हो । नेपाल वोटल वाटर उद्योग संघले एकतर्फीरुपमा असोज १८ गतेदेखि जारको पानीको मूल्यवृद्धि गर्न परिपत्र गरेको थियो । तत्काल पानीको बोतल तथा जारमा गरिएको मूल्यवृद्धि फिर्ता नभए कारवाही गर्ने विभागले चेतावनी दिएको छ ।

बजारमा उद्योगअनुसार पानीको मूल्य कायम भएको भन्दै मूल्यमा एकरुपता ल्याउन भदौ १० गतेदेखि काठमाडौँ उपत्यकासहित काभ्रेपलाञ्चोकमा पानीको नयाँ मूल्य निर्धारणको तयारी गरिएको थियो ।

बजारमा कायम भएकोभन्दा बढी मूल्य निर्धारण भएको भन्दै उपभोक्ता अधिकारकर्मी तथा व्यवसायीले संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा उजुरी गरेका थए ।

विभागले बोतलको पानी र जारको पानीको छुट्टाछुट्टै मूल्य निर्धारण गरेको थियो । विभागले निर्धारण गरेको नयाँ मूल्यअनुसार ६० लिटर पानी भएको जारको अधिकतम खुद्रा मूल्य रु ५० र एक लिटर पानी भएको बोतलको मूल्य १६ रुपैयाँ कायम गरेको थियो ।

नयाँ निर्धारणअनुसार व्यवसायीले १८ गतेदेखि एक जार पानीको ५० रुपैयाँमा बिक्री गरेका थिए । १८ गतेअघिसम्म प्रतिजार २५ देखि ५० रुपैयाँमा बिक्री गर्ने गरीएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *