Political Hightlights

नेकपाको कर्णाली प्रदेशको विवाद तत्काल साम्य नहुने निश्चित (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २६ गते १८:४३
नेकपाको कर्णाली प्रदेशको विवाद तत्काल साम्य नहुने निश्चित (भिडियोसहित)

२६ असोज, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको कर्णाली प्रदेशको विवाद तत्काल साम्य नहुने देखिएको छ ।

पार्टी केन्द्रका नेताहरुले मिलाउने प्रयास गरेपनि प्रदेश संसदीय दलमा प्रष्ट विभाजन आएको छ र उनीहरु भीड्ने मुडमा देखिएका छन् ।

आफ्नाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई बर्खास्त गर्नुभएको छ ।

शाहीले सीताकुमारी नेपालीलाई प्रमुख सचेतक बनाउनुभएको छ । दुवै पक्षले छुट्टा–छुट्टै संसदीय दलको बैठक बोलाएका छन् ।

मुख्यमन्त्री शाही पक्षले कार्तिक ७ गतेका लागि बैठक बोलाएको छ भने अविश्वास प्रस्तावमाथि छलफल गर्न निवर्तनमान प्रमुख सचेतक गुलाबजंग शाहले भोलिका लागि संसदीय दलको बैठक बोलाउनुभएको छ । नवनियुक्त प्रमुख सचेतक नेपालीले भोलि बस्ने भनिएको बैठक अवैधानिक भएको दावी गर्नुभयो ।

तर मुख्यमन्त्रीबाट बर्खास्त निवर्तमान प्रमुख सचेतक गुलाबजंग शाहले भोलि बस्ने बैठकनै आधिकारिक भएको र अविश्वास प्रस्तावमाथि छलफल गरेर निर्णय गर्ने दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओली निकट प्रदेश सभा सदस्य यामलाल कँडेलको अगुवाईमा १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध हिजो संसदीय दलमा अविश्वास दर्ता गरेपछि नेकपामा विवाद थप चर्केको छ ।

४० सदस्यीय प्रदेश सभामा सभामुखलाई छोडेर नेकपाका ३२ सदस्य छन् । जसमध्ये बहुमत अर्थात १८ जना शाहीविरुद्ध उत्रिएका छन् ।

यसैबीच शाहीको पक्षमा गृहजिल्ला कालिकोटमा प्रदर्शन भएको छ । मुख्यमन्त्रीलाई काम गर्न दिन उनीहरुको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्