Main News

बुढीगण्डकी भ्रष्टाचार प्रकरणको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग

हिमालय टिभी
२०७७ असोज २६ गते १५:१७
बुढीगण्डकी भ्रष्टाचार प्रकरणको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग

२७ असोज, २०७७ काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘बुढी गण्डकी जलविद्युत् परियोजनामा ९ अर्ब रुपैयाँ भ्रष्टाचार भएको भनि आरोप लगाएपछि विभिन्न क्षेत्रबाट छानबिनको माग बढेको छ ।

गोरखामा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र शेरबहादुर देउवाले नौ अर्ब रुपैयाँ बाँडेर खाएको तथा परियोजना अलपत्र पारेको आरोप लगाउनुभएको थियो ।

विवेकशील नेपाली दलले यो प्रकरणको अविलम्ब छानबिन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ । विवेकशीलले पूर्व प्रधानमन्त्री भट्टराईलाई आफूसँग भएका प्रमाण अख्तियारमा बुझाएर अनुसन्धानमा सहयोग गर्न पनि अनुरोध गरेको छ ।

यो विषय सामान्य अनुचित कार्य मात्र नभएर राष्ट्रिय महत्त्वको विषय समेत भएकाले अख्तियारले उच्च प्राथमिकतामा राखेर छानबिन अघि बढाउनु पर्ने विवेकशिलको माग छ ।

यस प्रकरणका आरोपितमध्ये दुई जना पूर्व र एक जना बहालवाला प्रधानमन्त्री रहेका कारण व्यक्तिगत पहुँच तथा पदीय दुरुपयोग गरी प्रमाण नष्ट गरिन सक्नेतर्फ पनि अख्तियारले ध्यान दिनुपर्ने विवेकशीलको सुझाव छ ।

यसैबीच संसदको सार्वजनिक लेखा समितिका पूर्व सभापति डोरप्रसाद उपाध्यायले पनि यो परियोजनामा अनियमितता भएको बताउनुभएको छ । उपाध्यायले ट्वीट गर्दै लेखा समितिको सभापति हुँदा यो मुद्दामा छलफल गरेको र हरेक हिसाबले परियोजनामा अनियमितता देखिएको उल्लेख गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री भट्टराईले बुढीगण्डकी परियोजनाबारे उच्चस्तरीय निष्पक्ष छानबिनको माग गर्दै आफूले सबै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

अनियमितताको आरोप लागेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यसबारे प्रमाण दिन र अख्तियारलाई छानबिन अघि बढाउन आग्रह गरिसकेको छ । प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डले भने यसबारे कुनै प्रतिक्रिया दिनुभएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *