समाज

दशैंका बेला सधैं भरिभराउ हुने धनगढी बसपार्क यो वर्ष यस्तो सुनसान (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २६ गते १४:०९
दशैंका बेला सधैं भरिभराउ हुने धनगढी बसपार्क यो वर्ष यस्तो सुनसान (भिडियोसहित)

२६ असोज, २०७७ धनगढी । दशैंको बेला यात्रुले भरिभराउ हुने सुदूरपश्चिमको व्यस्त धनगढी बसपार्क यो वर्ष सुनसान छ । कोरोना महामारीका कारण यात्रुहरुको चाप यो वर्ष घटेको हो ।

करिब ६ महिनापछि सञ्चालनमा आएका सार्वजनिक गाडीले दशैंतिहारमा पनि यात्रु पाउन सकेका छैनन् । दशैंतिहारको समयमा पनि यात्रु नपाउँदा पहाडी वा पूर्वी रुटमा गाडी खाली गुडाउन व्यवसायी बाध्य छन् ।

गत वर्ष दशैं शुरु नहुँदै कैलालीको धनगढी बसपार्कमा चहलपहल शुरु भइसक्थ्यो। तर, यस वर्ष बसपार्क क्षेत्र सुनसान छ । कोरोना महामारीको त्रासका कारण कमै मानिसले यात्रा गर्दा गाडीमा यात्रु अभाव छ ।

यात्रा गर्नेहरु दशैंका लागि भन्दा पनि काम विशेषले मात्रै यात्रा गर्नु परेको बताउँछन्। यात्रुहरु नपाउँदा धनगढीबाट पहाडी वा पूर्वी रुटहरुमा खाली गाडी गुडाउनु पर्ने बाध्यता रहेको यातायात व्यवसायीको गुनासो छ ।

सरकारले लागू गरेको सुरक्षा मापदण्डको नियमले यात्रुहरु सार्वजनिक सवारी साधनमा यात्रा नगर्ने गरेको सवारी धनीको गुनासो छ ।

सरकारले सार्वजनिक सवारी साधनमा यात्रु ५० प्रतिशत कम र भाडा ५० प्रतिशत बढाएका कारण यात्रुहरु ठुलो समस्यामा छन् । तर सरकारले लागू गरेको मापदण्ड सबै सवारी साधनले पालना नगर्दा जोखिमका बिचमा पनि यात्रा गनुपर्ने बाध्यता रहेको यात्रुको गुनासो छ ।

हवाई सेवामा यात्रु भरिभराउ राख्ने तर सार्वजनिक सवारी साधनहरुमा भने ५० प्रतिशत कम यात्रुहरु राख्दै ५० प्रतिशत भाडा बढाउने नियम नै गलत भएको व्यवसायीको भनाइ छ। कोरोनाका कारण यात्रुको संख्या निकै न्युन भएका कारण व्यवसायीले अग्रिम टिकट पनि खोलेका छैनन् ।

सार्वजनिक सवारी साधनमा सिट बराबर यात्रुहरु राख्न पाउनुपर्ने भन्दै व्यवसायीले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । तर सरकारले बेवास्ता गर्दै आएको छ ।

६ महिनासम्म बन्द रहेका यातायात असोज १ गतेदेखि सञ्चालनमा आए पनि यात्रु नपाउँदा बैंकको किस्ता र कर्मचारीलाई तलब कसरी दिने भन्ने चिन्ता व्यवसायीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *