आर्थिक

विदेशी मदिरा आयातमा लगाइएको प्रतिबन्ध फुकुवा

हिमालय टिभी
२०७७ असोज २५ गते १८:३३
विदेशी मदिरा आयातमा लगाइएको प्रतिबन्ध फुकुवा

२५ असोज, २०७७ काठमाडौं । सरकारले विदेशी मदिराको आयातमा लगाउँदै आएको प्रतिबन्ध हटाएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशी मदिराको आयातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

विदेशी मुद्रा सन्चितीमा असर गरेको भन्दै सरकारले गत चैतदेखि विदेशी मदिरा आयातमा रोक लगाएको थियो । प्रतिबन्धअघिसम्म वार्षिक २ अर्ब रुपैयाँभन्दा बढीको मदिराको आयात हुँदै आएको छ ।

तर प्रतिबन्धको असर राजस्व संकलनमा देखिएपछि सरकार प्रतिबन्धको निर्णयबाट पछि हटेको हो ।

यस्तै सरकारले कुटनैतिक नियोगका प्रतिनिधिलाई निजी प्रयोजनका लागि ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका सवारी साधनको आयात गर्न दिने भएको छ ।

चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका सवारीसाधनको आयातमा रोक लगाएको छ । तर यसबाट कुटनैतिक नियोगका कर्मचारीलाई असर गरेको भन्दै उनीहरुको हकमा आयात खुल्ला गर्ने निर्णय गरिएको जनाएको हो ।

यसबाहेक सरकारले राजस्व अनुसन्धान विभागमा सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा ५० र विभाग मातहतका ४ वटा कार्यालयमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जना खटाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *