Main News

कोरोना संक्रमित गम्भीर बिरामीलाई हवाई मार्गबाट उद्धार गर्न सेनालाई प्राथमिकता दिइने

हिमालय टिभी
२०७७ असोज २५ गते ७:२७
कोरोना संक्रमित गम्भीर बिरामीलाई हवाई मार्गबाट उद्धार गर्न सेनालाई प्राथमिकता दिइने

२५ असोज, २०७७ काठमाडौं । सरकारले कोरोनाका गम्भीर संक्रमितलाई हवाई मार्गबाट उद्धार गर्न सेनालाई प्राथमिकता दिने गरी मापदण्ड जारी गरेको छ।

हालसम्म कोरोना संक्रमितको सम्पूर्ण उपचार खर्च राज्यले ब्यहोर्दै आए पनि हवाई उद्धारमार्फत आउने बिरामीले भने त्यसको खर्च आफैँ ब्यहोर्नुपर्ने भएको छ।

रोना संक्रमितको संख्या बढेसँगै देशभर गम्भीर प्रकृतिका बिरामीको संख्या पनि बढ्दो छ। संक्रमितको संख्या शनिबारसम्ममा १ लाख ५ हजार नाघेको छ। देशभरमा ३२१ जना आईसीयू र ७७ जना भेन्टिलेटरमा उपचाररत् छन्।

गम्भीर प्रकृतिका संक्रमित बढेसँगै आईसीयू र भेन्टिलेटरमा राखी उपचार गर्नुपर्नेको संख्या पनि बढ्दै जाने भएकाले सरकारले हवाई उद्धारसम्बन्धी मापदण्ड जारी गरेको हो।

सबै जिल्ला र क्षेत्रमा पर्याप्त आईसीयू र भेन्टिलेटर नभएका कारण गम्भीर कोरोना संक्रमितलाई हवाई मार्गबाट एयर लिफ्ट गरी सुविधासम्पन्न अस्पतालमा पुर्‍याउनका लागि मन्त्रालयले यो मापदण्ड जारी गरेको हो।

हवाई उद्धारका लागि विमान, हेलिकोप्टर, एयर एम्बुलेन्सको प्रयोग गरी कोरोनाका बिरामीहरूको ओसारपसार गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले इच्छुक हवाई कम्पनीले सूचना जारी गर्न सक्ने जनाउँदै सरकार मातहतका सेनाका विमानलाई प्राथमिकता दिने मापदण्डमा स्पष्ट व्यवस्था गरेको छ।

मापदण्ड अनुसार साधारण र मध्यम प्रकृतिका बिरामीलाई भने एयर लिफ्ट गरिने छैन। बुकिङ गरेको विमानको भाडा बुकिङ गर्ने ब्यक्तिले ब्यहोनुपर्ने छ। एयर लिफ्ट गर्दा विमानमा एक जना मेडिकल अफिसरसहित कम्तीमा २ जना स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ।

सोको व्यवस्थापन विमान कम्पनीले गर्नुपर्ने मापदण्डमा उल्लेख छ। मापदण्डमा विमान अवतरण हुने स्थानबाट अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्सको अग्रीम व्यवस्था हुनुपर्ने र त्यसको व्यवस्थापन अस्पतालले गर्नुपर्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *