Main News

बिना शर्त अनशन अन्त्य गर्न डा. केसीलाई सरकारी वार्ता टोलीको आग्रह

हिमालय टिभी
२०७७ असोज २४ गते १७:०९
बिना शर्त अनशन अन्त्य गर्न डा. केसीलाई सरकारी वार्ता टोलीको आग्रह

२४ असोज, २०७७ काठमाडौं । सरकारले २७ दिनदेखि आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीलाई विना शर्त अनशन अन्त्य गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि सरकारी वार्ता टोलीका संयोजक शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विज्ञप्ति निकालेर अनशनत तोड्न आग्रह गर्नुभएको हो ।

सरकारी वार्ता टोलीले केसीसँगका यसअघिका सहमति र अहिलेका माग अधिकांश पूरा भइसकेको दावी गरेको छ । सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानमा चिकित्सा शिक्षाका विभिन्न तह तथा विषयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न हरेक वर्ष बजेट विनियोजन गरेर योजनावद्ध रुपमा काम भइरहेको सरकारको प्रष्टिकरण छ ।

यस्तै गेटा मेडिकल कलेज भवन र अस्पताल भवन निर्माण सम्पन्न भइसकेको र अन्य पूर्वाधार निर्माण अन्तिम चरणमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारी वार्ता टोलीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएस कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोग समक्ष स्वयंम मुल्यांकन प्रतिवेदन पेश भइसकेको छ ।

प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्न बर्दिबास, बुटवल र सुर्खेतमा जग्गा प्राप्ति र गुरुयोजना स्वीकृत भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिको अन्तिम चरणमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएस लगायतका कार्यक्रम सञ्चालन गर्न गुरुयोजना पारित भइसकेको छ भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सुरु भइसकेको दावी गरिएको छ ।

डोटी–डडेलधुरा, उदयपुर र इलाम–पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न प्रारम्भीक सम्भाव्यता अध्ययन भएर प्रतिवेदन आइसकेको सचिव मैनालीले बताउनुभएको छ ।

यस्तै सप्तरीमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास समिति बनेको टोलीको दाबी छ । विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड निर्धारण समिति तथा कार्यदलको प्रतिवेदन कार्यान्वयनका क्रममा रहेको र चिकित्सा शिक्षा ऐन संशोधनका लागि कार्यदल गठन गरेर काम थालिसकेको सरकारी वार्ता टोलीले बताएको छ ।

गुणस्तरीय चिकित्सा शिक्षाको विस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिवद्ध रहेको वार्ता टोलीले भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *