Main News

कोरोनाबाट मुक्त हुन कति दिन लाग्छ ? कसैलाई ढिलो कसैलाई चाँडो किन ? भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २३ गते १९:५५
कोरोनाबाट  मुक्त हुन कति दिन लाग्छ ? कसैलाई ढिलो कसैलाई चाँडो किन ? भिडियोसहित)

२३ असोज, २०७७ काठमाडौं । अहिले कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । कुल संक्रमित मध्ये ७३ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । जसमध्ये केही छोटो समयमा नै संक्रमणमुक्त हुने र कसैलाई कोरोना संक्रमणमुक्त हुन पनि महिनौँं लाग्ने गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा एक हप्तामा नै कोरोना भाइरस संक्रमणमुक्त हुनुभयो । ३ जना सल्लाहकार र स्वकीय सचिवसहित र केही सुरक्षाकर्मीलाई चैत १७ गते कोरोना संक्रमण पुष्टि भयो । तर त्यसको ६ दिनपछि नै उहाँहरुको पीसीआर परीक्षण गरियो र तीनै जनाकै नेगेटिभ रिपोर्ट आयो ।

तर कोरोना संक्रमण भएका सबै जना उहाँहरु जसरी सजिलै र छोटो समयमा नै संक्रमणमुक्त भएका छैनन् । कोही संक्रमित महिना दिनदेखि अस्पतालको भेन्टिलेटरमा जीवन र मरणको दोसाँधमा छन् । शरीरमा रहेको रोगप्रतिरोधात्मक क्षमताका कारण कोरोनाले गर्ने असर फरक हुने गरेको विज्ञको भनाइ छ ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, शिशु, पोषकतत्व कम भएका व्यक्तिमा रोगप्रतिरोधात्मक क्षमता पनि कम नै हुन्छ । जस्ले गर्दा उनीहरुको शरीरमा कोरोनाको भाइरस लामो समयसम्म बस्न सक्छ । तर स्वास्थ्य ठाउँमा बसेका र कुनै पनि रोग नलागेका निरोगी मानिसको शरीरमा कोरोना भाइरस लामो समयसम्म बस्दैन । त्यसैले उनीहरु छिट्टै संक्रमण मुक्त हुन्छन् ।

कोरोना संक्रमणबाट जोगिन १४ दिनसम्म अनिवार्य क्वारन्टिनमा बस्न सरकारले भनिरहेको छ । तर वैज्ञानिक रुपमा यति दिनमा नै कोरोना निको हुन्छ भन्ने पुष्टि भने भएको छैन । शरीरमा के कति मात्रामा भाइरस प्रवेश गरेको छ, सोही आधारमा मानिसमा कोरोनाको असर देखिने विज्ञको भनाइ छ।

कोरोना संक्रमण भएका व्यक्ति छोटो समयमा नै कोरोना संक्रमणमुक्त भए पनि उनीहरुलाई फेरि कोरोनाको लक्षण देखिने र बिरामी पर्ने संभावना कायम रहेको चिकित्सकहरु बताउँछन् । त्यसैले कोरोना भाइरसबाट बच्न सबैले सावधानी अपनाउन जरुरी छ र रोगप्रतिरोधात्मक क्षमता बढाउन खानपिनमा ध्यान दिन पनि आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *