Main News

विश्व बैंकको रिपोर्ट: दुई वर्षमा लाखौं मानिस गरिबीको मारमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २२ गते २०:२६
विश्व बैंकको रिपोर्ट: दुई वर्षमा लाखौं मानिस गरिबीको मारमा (भिडियोसहित)

२२ असोज, २०७७ काठमाडौं । विश्व बैंकले कोरोना महामारीका कारण सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर शुन्य दशमलव २ प्रतिशत र सन् २०२१ मा शुन्य दशमलव ६ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ ।

लकडाउन र निषेधाज्ञाले अनौपचारिक क्षेत्रका कामदार र सामाजिक सुरक्षामा नअटाएका मानिस मारमा परेको विश्व बैंकले विश्लेषण छ । कोरोनाले दक्षिण एशियाको अर्थतन्त्र हालसम्मकै सुक्ष्म मन्दीमा पुगेको र यसबाट लाखौँ मान्छे चरम गरिबीमा धकेलिने विश्व बैंकको प्रक्षेपण छ ।

नेपालबारे विश्व बैंकको प्रक्षेपण
– सन् २०२० मा ०.२ को आर्थिक वृद्धिदर
– सन् २०२१ मा ०.६ को आर्थिक वृद्धिदर
– सन् २०२० मा ६.२ को मुद्रास्फिति
– सन् २०२१ मा ६.५ को मुद्रास्फिति
– सबैभन्दा मारमा अनौपचारिक क्षेत्रका कामदार

दक्षिण एशियाबारे विश्व बैंकको प्रक्षेपण
– सन् २०२० मा माइनस ७।७ को आर्थिक वृद्धि
– सन् २०२१ मा ४।५ को आर्थिक वृद्धि
– प्रति व्यक्ति आयमा ६ प्रतिशतको गिरावट
– रेमिट्यान्स घट्ने र निजी उपभोग १० प्रतिशतले घट्ने
– अति विपन्न र अनौपचारिक क्षेत्रका कामदार सबैभन्दा बढी मारमा
– लाखौँ मानिस चरम गरिबीमा धकेलिने

विश्व बैंकका सुझाव
– मारमा परेकालाई आय, सामाजिक सुरक्षा, र रोजगारी देउ
– लगानीको वातावरण सुधार ल्याउ

दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदनमार्फत प्रमुख दातृ निकाय विश्व बैंकले नेपालको अर्थतन्त्र निकै कठिन मोडमा रहेको देखाएको छ ।

विश्व बैंकले कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण अर्थतन्त्रमा गम्भीर धक्का पुगेको र यसले आर्थिक वृद्धिदर सन् २०२० मा शुन्य दशमलव २ र सन् २०२१ मा शुन्य दशमलव ६ प्रतिशतमा खुम्चने प्रक्षेपण गरेको छ ।

सरकारले अघिल्लो आर्थिक वर्ष २ दशमलव ७ प्रतिशत र चालू आर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिरहेका बेला विश्व बैंकले विपरीत प्रक्षेपण गरेको हो । लकडाउन र निषेधाज्ञाका कारण पर्यटन, उद्योग, व्यापार, यातायात र अनौपचारिक क्षेत्रमा सबैभन्दा बढी असर गरेको र यसबाट धेरैको रोजगारी गुमेको बैंकको विश्लेषण छ ।

यस्तै मल अभावका कारण कृषि क्षेत्रमा समेत असर देखिने र यसको मूल्य अर्थतन्त्रले चुकाउनुपर्ने बैंकको ठहर छ । नेपालमा अनौपचारिक व्यवसायमा करीव ५० प्रतिशत उद्यम छन् र यी उद्यम नै अधिकांश कामदारको कमाईको मुख्य स्रोत हुन् । त्यसैले अनौपचारिक क्षेत्रका कामदार र सामाजिक सुरक्षामा नअटाएका मानिस सबैभन्दा मारमा पर्ने र गरिबीमा धकेलिने जोखिम रहेको विश्व बैंकले औँल्याएको छ ।

विश्व बैंकले अघिल्ला वर्षहरुमा ५ प्रतिशतमुनी रहेको महँगी कोरोनाका कारण बढ्ने समेत अनुमान गरेको छ । यस्तै सन् २०२० मा मुद्रास्फ्रिति ६ दशमलव २ प्रतिशत रहने र सन् २०२१ मा बढेर ६ दशमलव ५ प्रतिशतमा पुग्ने विश्व बैंकको प्रक्षेपण छ ।

विश्व बैंकको प्रतिवेदनले अझ खराब अवस्था दक्षिण एशियाको रहेको देखाएको छ । विश्व बैंकले यो वर्ष दक्षिण एशियाको अर्थतन्त्रमा ७ दशमलव ७ प्रतिशतको संकुचन आउने प्रक्षेपण गरेको छ । कोरोना सुरु नहुँदा‍सम्म विगत ५ वर्षसम्म लगातार ६ प्रतिशतको आर्थिक वृद्धिदर गरिरहेको दक्षिण एशिया कोरोनाकै कारण हालसम्मकै सुक्ष्म मन्दीमा डुबेको विश्व बैंकको विश्लेषण छ ।

कोरोनाकै कारण सन् २०१९ को तुलनामा दक्षिण एशियाको प्रति व्यक्ति आयमा समेत ६ प्रतिशतको गिरावट आउने बैंकको प्रक्षेपण छ । दक्षिण एसियामा रेमिट्यान्स गिरावट आएको र निजी उपभोग १० प्रतिशतले घट्ने र यसले अति विपन्नहरूले तीव्र गतिमा आय श्रोत गुमाउने बैंकको विश्लेषण छ ।

सबैभन्दा बढी अनौपचारिक क्षेत्रका काम गर्ने मानिस मारमा पर्ने र लाखौँ मानिस गरिबीको चरम गरिबीमा धकिलिने बैंकको अनुमान छ । त्यसैले दक्षिण एशियाका त्यस्ता मानिसलाई आय, सामाजिक सुरक्षा, र रोजगारीसहितको सहयोग तत्काल उपलब्ध गराउनुपर्नेमा विश्व बैंकको जोड छ ।‍

यस्तै भौतिक पूर्वाधार र अनौपचारिक क्षेत्रको वित्तीय पहुँचलाई बढाउँदै द्रुत गतिमा पुनर्लाभ प्राप्त गर्न लगानीको वातावरणमा उल्लेख्य सुधार ल्याउनु आवश्यक रहेको समेत विश्व बैंकले सुझाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *