Main News

जहाँ संक्रमणमुक्त भएपछि दिइन्छ उपहार आइसोलेसनमा बस्दा पनि पोषिलो आहार (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २२ गते २०:१२
जहाँ संक्रमणमुक्त भएपछि दिइन्छ उपहार आइसोलेसनमा बस्दा पनि पोषिलो आहार (भिडियोसहित)

२२ असोज, २०७७ चितवन । कोरोना भाइरस संक्रमितहरुको उपचार हुने कोभिड अस्पतालहरुमा संक्रमितहरुको झनै बेहाल हुने गरेका खबर आउने गरेका छन् । राम्रो खानेकुरा नपाउनेदेखि अन्य थुप्रै समस्या उनीहरुले आइसोलेसन सेन्टरमा भोग्नुपर्छ ।

तर चितवनको एउटा आइसोलेसन केन्द्रमा रहेका कोरोना संक्रमितले तागतिलो खाने कुरा त खान पाउँछन नै कोरोनामुक्त भएर घर फर्कँदा उपहार पनि पाउने गरेका छन् ।

चितवनको भरतपुर १ मा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा सञ्चालित कोभिड आइसोलेसन केन्द्र । ३५ दिनमा यो आइसोलेसन केन्द्रबाट १११ जना कोरोना संक्रमित कोरोनामुक्त भएर घर फर्किए । उनीहरु कोही ८ दिन त कोही १६ दिन बसे । कोरोना संक्रमितले यहाँ बस्दा प्राकृतिक रुपमै उत्पादित खानेकुराहरु खाए र रोगप्रतिरोधात्मक क्षमता बढाए । जसले गर्दा संक्रमित भएर बसेको अनुभूति खासै गर्नुपरेन ।

प्राकृतिक चिकित्साबाट उपचार गरिने यो ठाउँमा सुरु सुरुमा आउँदा संक्रमितहरु डराउने गरेका थिए । तर यहाँको प्राकृतिक औषधोपचारको विधि र खुला वातावरणमा विस्तारै उनीहरु घुलमिल भए ।

कोरोना भाइरसको महामारीले यतिबेला विश्वनै थलिएको छ । र धेरैले कोरोना भाइरसलाई प्रकृति सिर्जित भाइरस पनि भनेका छन् । हुन पनि पछिल्लो समय मानवीय गतिविधिका कारण वातावरणीय असन्तुलन बढेको छ ।

चिकित्सालयले यही कुरालाई मध्यनजर गर्दै संक्रमितहरुलाई प्राकृतिक विधिले उपचार गर्छ । र उनीहरु निको भएर घर फर्कँदा पनि कुनै न कुनै बनस्पनीको विरुवा उपहार स्वरुप दिएर पठाउने गरेको छ ।

चिकित्सालयले यहाँ आउने हरेक सङ्क्रमितलाई हरेक दिन योग अभ्यास गराउँछ , दिउँसो ८ घण्टा पौष्तिकतत्वले भरिपूर्ण खानेकुरा खान दिन्छ र बाँकी रहेको १६ घण्टा केही नखुवाइ राख्छ । चिकित्सालयको यो उपचारविधिबाट संक्रमित पनि सन्तुष्ट छन् ।

बागमती प्रदेश सरकारले कोभिड उपचारका लागि यो चिकित्सालयलाई एक करोड रुपैयाँ दिएको छ । अहिले ७५ जना सङ्क्रमित राख्ने क्षमता रहेको यो आइसोलेशन केन्द्रमा आगामी हप्तादेखि क्षमता बढाएर १०० पुर्याउने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *